प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना सङ्क्रमण

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ५९


पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

एक हजार ६६१ को पिसिआर परीक्षणमा ३३८ र दुई हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा चार, उदयपुरमा तीन, पाँचथरमा दुई, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३०७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७३ हजार २४३ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र छ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अवैध रकमसहित दुई पक्राउ

अवैध भारतीय रुपैयाँसहित भारत उत्तर प्रदेश लखनउ निवासी ३४ वर्षीय अतुलकमार र ३५ वर्षाीय सन्दीप सिंहलाई आज प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट पक्राउ गरेको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो।

उनीहरुको साथबाट दुई लाख आठ हजार ५०० भारतीय रुपैयाँ र दुई हजार २०० अमेरिकन डलर बरामद भएको बताइएको छ। आवश्यक कानूनी कारवाहीका लागि दुबै जनालाई आजै राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्