माओवादीका ४९ सांसदलाई नै मन्त्री चाहिएको छ, तनावमा छु : प्रचण्ड

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ४२


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेको बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको प्रचण्डले बताउनु भएको हो।

‘मेरोमा अहिले मन्त्री बन्न इच्छुकको लाइन छ। मन्त्री बन्न मकहाँ दबाब दिन आएको हुलबाट उम्केर आएको छु म’, उहाँले भन्नुभयो, ‘मन्त्री बनाइदिनु भन्नेहरूको आतंक छ। कसलाई बनाउने, कसलाई नबनाउने मैले। सबै ४९ जना सांसदलाई नै मन्त्री बनाउन दबाब छ।’

आफू तनावमा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले पाउने बढीमा सात मन्त्रालय होला। मन्त्री बनाउन दबाब दिन आउनेबाट म साँच्चिकै चार–पाँच दिनदेखि मानसिक तनावमा छु।’

अध्यक्ष दाहालले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन तर्फ लाग्नु पर्छ। पार्टीलाई फेरि एकचोटी जनता तिर फर्काउने, आफ्नो संगठनलाई सदृढ गर्ने हिजोका गल्ती कमजोरीको पश्चाताप गर्दै फेरि जनता र राष्ट्रको पक्षमा समर्पित गर्ने आवश्यकता छ। यो सजिलो छैन तर असम्भव पनि छैन।’

प्रचण्डले आफूहरु नै जनयुद्ध सञ्चालन गरेर शान्ति प्रक्रिया हुँदै गणतन्त्रसम्म ल्याईपुर्याउने भन्दै आफूभित्रको धुलो मैलो सफा गरी अगाडि बढे गन्तव्यमा पुग्न सकिने बताउनुभयो।

अध्यक्ष प्रचण्डले राजनीतिक पहलकदमी आएको बताउनुहुँदै अब आफ्नो शक्ति सुदृढ गरेर मात्रै आन्दोलन विरोधीतत्वहरुलाई सदाको लागि परास्त गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अहिले पनि त्यो तत्व पुरै परास्त भयो भन्नु हुँदैन।’

अध्यक्षले सरकार गठनभन्दा अगाडि नै गठबन्धनलाई टुटाउन निकै धेरै कोशिस भएको उल्लेख गर्दै केही नपत्याउँदो गरी ढलेको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्