गुरू पूर्णिमा र व्यास

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ५०


–थानेश्वर पाण्डेय
आज असार शुक्ल पूर्णिमा । आजको दिनलाई हिन्दू संस्कृतिमा गुरुपूर्णिमा पर्वका रुपमा मनाइन्छ । गुरुलाई मातापिता, देवता, मार्गदर्शक, कर्मदाता, मुक्तिदाता, दीक्षादाता आदिका रुपमा समेत पूजा गर्ने गरिन्छ । वैदिक कालदेखि नै गुरुलाई मन्त्रद्रष्टा र धनुर्विद्या, शस्त्रविद्या आदि जीवनोपयोगी विद्याका साथै ६४ कला सिकाउने गुरुका रूपमा लिइन्छ । हाम्रो परम्परामा पनि देवगुरू वृहस्पति, दैत्यगुरू शुक्राचार्यजस्तै सम्पूर्ण मानव जातिका कुलगुरु स्थापना गर्ने प्रचलन रहेको पाइन्छ । वैदिक कालदेखि सुचारु रहेको गुरूपूजा गर्ने क्रम आजसम्म पनि निरन्तर छ । नेपाली समाजमा आजको दिन आफ्ना गुरू, विद्यालयका शिक्षकशिक्षिका आदिलाई सम्मान व्यक्त गर्ने र पूजा गर्ने प्रचलन छ । आज १८ महापुराणका रचयिता मानिने वेदव्यासको पनि जन्मदिन रहेको छ । उनका विषयमा केही चर्चा गरौं ।

सत्य युगमा स्वर्गकी अप्सरा आद्रिकालाई ब्रह्माले मत्स्य योनीमा पृथ्वीमा जन्मने श्राप दिए । सोही अनुसार आद्रिका भारत वर्षको यमुना नदीमा माछाका रुपमा जन्म लिइन् । सोही समयमा चेदी देशका राजा उपरिचरवसु थिए । उनले सुक्तिमती नदीबाट उत्पन्न भएकी गिरिकासँग विवाह गरेका थिए । कालान्तरमा उनका मत्स, मगधनरेश वृहद्रथ, प्रत्यग्रह/मणिवाहन, कुशाम्ब, मावेल्ल, यदु आदि छोराहरु भए ।

राजा वसु एक दिन केही समयका लागि शिकार खेल्न वन गए । राजा वन गएपछि तिनकी पत्नी गिरिका रजस्वला भइन् । उनले शिकारी पक्षीका माध्यमबाट पतिलाई यो समाचार पठाइन् । समाचार पाएर राजाले रानीको ऋतुकाल व्यर्थ नजाओस् भनी आफ्नो वीर्य झारेर पातमा बाँधी सोही पंक्षीको घाँटीमा बाधेर राजदरबार पठाए । पंक्षी आउने क्रममा अर्काे पक्षीले घाँटीको पातलाई भोजन सम्झेर आक्रमण गर्यो । यस क्रममा पातको वीर्य यमुना नदीमा खस्यो । माछारुपी आद्रिकाले सो वीर्य आहार सम्झेर खाएपछि उनलाई गर्भधारण भयो । एक दिन माझीले जाल हान्दा सो माछा जालमा पर्यो । माझिले माछा काट्दा पेटबाट एक पुत्र र एक पुत्री निस्किए । ती निषाद/माझी डराएर दुबै सन्तान राजा उपरिचर वसुलाई दिए । राजाले बालकलाई पुत्रकारुपमा पाले भने बालिकाबाट माछाको कडा गन्ध आइरहेकाले माझीलाई नै दिए । माझीले ती कन्यालाई मत्स्यगन्धा नाम राखी पुत्रीवत् पाले । उनी ठूली भएपछि नदीमा डुङ्गा चलाउने काम गर्न थालिन् ।

एक दिन वशिष्ठगोत्री शक्तिपुत्र पराशर सोही बाटो आएर मत्स्यगन्धाको ड्ङ्गामा यात्रा गर्दै थिए । उनी मत्स्यगन्धाको स्वरुपदेखि मोहित भए । उनले सत्यवतीसँग सहबास गर्ने इच्छा गरे पनि सत्यवतीले खुला स्थान र गर्भ रहने डरले सङ्कोच मानिन् । पराशरले उनको मनको कुरा ब्ुझेर तुरुन्त चारैतिर कुहिरोले ढाकिदिए । ऋषिले सहबासको तुरुन्तै युवक पुत्र उत्पन्न हुने र उनको कुमारीत्व पनि नाश नहुने बरदान पनि दिए । यसपछि सहबास गरी तुष्ट भएका पराशरले मत्स्यगन्धाको इच्छानुसार उनको शरीरको गन्ध हटाएर १०० योजनसम्म फैलने सुगन्ध भरिदिए अनि परम सुन्दरी हुने बरदान दिएर अन्तध्र्यान भाए । त्यसपछि उनको नाम सत्यवती र योजनगन्धा भयो । कालान्तरमा उनका विवाह दिलीपवंशी प्रतीपपुत्र शान्तनुसँग भयो । पराशर मुनि गएपछि उनका गर्भबाट व्यास उत्पन्न भए र आमालाई आवश्यक परेको बखत तुरुन्त उपस्थित हुने बाचा गरी द्वैपायन द्विपमा तपस्याका लागि गए । त्यहाँ अत्यन्त तेज घाममा बसेर तपस्या गरेकाले उनको रुप निकै कालो भयो । त्यसैले उनलाई कृष्णद्वैपायन व्यास भनिन थाल्यो ।

महर्षि वेदव्यासलाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ । महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन् । यसअनुसार २८ वटा युगका २८ वटा व्यासहरू अवतरित भइसकेका छन् । ती निम्न छन् : क्रतु, सत्य, भार्गव/शुक्र, अङ्गिरा, सविता, मृत्यु, शतक्रतु, वशिष्ठ, सारस्वत, त्रिधामा, त्रिवृत्त, शततेजा, नारायण, तरक्षु, अरुणि, देव, कृतञ्जय, ऋतुञ्जय, भारद्वाज, गौतम, वाचश्रवा, शुष्मायणि, तृणविन्दु, रुक्ष, शक्ति, पराशर, जातूकण्र्य र कृष्णद्वैपायन (अग्नि महापुराण ७/१४–१८) । महर्षि व्यास त्रिकालज्ञ थिए । ऋषि वेदव्यासले छरिएर रहेका ऋचाहरुलाई एकत्र गरी वेदको रचना गरे र तिनलाई चार भागमा विभाजन गरे । उनी महाभारत ग्रन्थका पनि रचयिता थिए । यीमध्ये आफ्ना शिष्य पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनिलाई सामवेद र सुमन्तुलाई अथर्ववेद तथा रोमहर्षणलाई महाभारत र पुराणहरुको शिक्षा दिए । व्यासले नै अट्ठार पुराणहरूको पनि रचना गरे । व्यास परम्परा कायम गराई वेद, पुराणादि अध्ययन परम्परा चलाए । यिनले ऋतुदान गरी आफ्ना भाइ विचित्रवीर्यकी पत्नी अम्बिकाबाट धृतराष्ट्र, अम्बाबाट पाण्डु र दासीबाट विदुरको जन्म गराएका थिए ।

वेदव्यासकी पत्नी आरुणी÷पिञ्जलीदेखि महान् बालयोगी शुकदेवको जन्म भयो । व्यासजीले काशीलाई शाप दिएका कारण विश्वेश्वरले व्यासजीलाई काशीदेखि निष्कासित गरिदिएका थिए । त्यसपछि व्यासजी गङगाजीका पूर्वी तटको लोलार्क मन्दिरको आग्नेय कोणमा स्थित भए (लोलार्कादं अग्निदिग्भागे, स्वर्घुनी पूर्वरोधसि । स्थितो ह्यद्यापि पश्चेत्सः काशीप्रासाद राजिकाम् ।। स्कन्द महापुराण, काशीखण्ड ९६ र २०१ अ.)
स्रोत : महाभारत, आदिपर्व, ६३/५९–९०, अग्नि महापुराण ७ अध्याय, भागवत महापुराण ……., ब्रह्माण्ड महापुराण १/२/३४–३५ अ., सुखसागर ।

थानेश्वर पाण्डेय : (PhD Scholar in Puran) tpandeynepali@Gmail.com 9851068991

 


प्रतिक्रिया दिनुहोस्