पैसाका लागि आफ्नै साथीलाई गोली हानी हत्या गर्ने सेनाका जवान पक्राउ

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ५३


भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ।

पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन्।

धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिनुभयो।

अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो।

उहाँले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताउनुभयो।

भरतलाई रक्सि खुवाएर गंगाधरले राति मोटरसाइकलमा डुलाएको र नहरमा पुगेपछि पिसाब फेर्ने बाहनामा झर्न लगाई गोली हानेर भागेको पाइएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ।

यस्तै घटनामा प्रयोग गरिएको मोटरसाइकल, बन्दुक, गोली समेत बरामद भएको छ।

९ लाख रुपैयाँका लागि गंगाधरले आफ्नै साथिको हत्या गरेको पाइएको प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्