प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझाव : प्रधानमन्त्रीको लोभ त्यागेर सडकमा आउनुस्

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : २०


नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य (किरण) ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गर्नुभएको छ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो।

अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न पनि सुझाव दिनुभयो।

अध्यक्ष वैद्यले भन्नुभयो, “सरकारमा र संसदमा भएका कम्युनिष्टहरु एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिष्टहरु पनि एक ठाउँमा उभिनुपर्छ, संसद र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ।”

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताउनुभएको छ। वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताउनुभयो।

अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गर्नुभयो। उहाँले संसदवादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाउनुभएको छ।

“ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र” अध्यक्ष वैद्यले भन्नुभयो, “संसदमा जाने साथीहरु सबै एक हुँदै, सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरुबीच तालमेल गरौँ।”

अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरिका कम्युनिष्ट रहेको उल्लेख गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्