कांग्रेस पदाधिकारी बैठक आज, अब पार्टीका बैठक बालुवाटारमा नबस्ने

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ०५


काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बैठकमा आसन्न १४औँ महाधिवेशनको तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने योजना अनुसार कांग्रेसले देउवा निवासमा बैठक बोलाएको हो।
यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्रायः बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले पनि हालै बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो।

तर अब, यो गलत परम्परालाई तोड्दै कांग्रेसका कुनैपनि बैठक बालुवाटारमा नराखिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।


प्रतिक्रिया दिनुहोस्