सबैलाई खोपको व्यवस्था गर्न सरकारसँग नेता नेपालको माग

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  २ : ३८


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ।

वरिष्ठ नेता नेपालले बाढि, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नु भयो।

४३ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो, “आम जनतालाई खोप उपलब्ध गराउने, उपचारको व्यवस्था देखि लिएर बाढि, पहिरो र डुबानका कारण भोकले पीडित भएका जनताको निम्ति आवश्यक प्रबन्ध गर्ने कुरामा संवेदनशील भएर अगाढि बढनुहोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। हाम्रो राजनीतिको केन्द्र विन्दु नै जनता हुन।”

नेता नेपालले भ्रष्टाचार मुक्त नेपाल बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्न तथा हावादारी योजना नल्याउन पनि आफूले प्रधानमन्त्री देउवालाई सुझाव दिएको पनि स्मरण गराउनु भयो।

वरिष्ठ नेता नेपालले भ्रष्टाचारले मुलुक आक्रान्त बनाएकाले त्यसको अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पार्नु भयो।


प्रतिक्रिया दिनुहोस्