अरुको दास हुने मान्छे कम्युनिष्ट हुन सक्दैन : माधव नेपाल

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : ०१


काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अरुको दास हुने मान्छे कम्युनिष्ट हुन नसक्ने बताएका छन्।

पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले नेता नेपालले त्यसकार आफूले सबैको सम्मान गर्ने बताए।

‘अरुको अपमानले आफ्नो मानसम्मान पनि कायम राख्न सक्दैन। दास हुने मान्छे कम्युनिष्ट हुन सक्दैन’, नेता नेपालले भने।

उनले अब पार्टीमा अपमान सहेर नबस्ने बताए। नेपालले कम्युनिष्ट पार्टीको नाम र झण्डा दुरुपयोग हुन दिन नहुने बताएका छन्। ‘कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गन्हाउँछन् त्यसैले नेता अहंकारी भए कि जाँच्नुपर्छ’, उनले भने।

कार्यक्रममा नेता नेपालले पु्ष्पलालको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ पनि विमोचन गरे। नेपाल प्रतिष्ठानका अध्यक्ष पनि हुन्।

त्यसअघि उनले पुष्पलालको प्रतीमामा माल्यार्पण गरेका थिए।

पुष्पलालको प्रतीमामा माल्यार्पण गर्न पुगेका वामदेव गौतम भने कार्यक्रममा बसेनन्। उनी माधव नेपालसहितका अतिथि पुग्नुअघि नै बिहान ७ बजे प्रतिष्ठान करिसर चम्पादेवि पुगेका थिए।

माधव नेपालसहितका प्रतिष्ठान पदाधिकारी भने ८ बजे मात्र पुगेका थिए। गौतम माल्यर्पण गरेर त्यहाँ नबसी निस्केका थिए। त्यसपछि मात्र प्रतिष्ठानका कर्मचारीले थाहा पाएका थिए।


प्रतिक्रिया दिनुहोस्