एमाले केन्द्रीय कमिटी बैठक आज पनि, २२ सांसदलाई कारबाहीको तयारी

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : ११


काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान भवन ललितपुरमा बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

आजको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ। एमालेले उनीहरूलाई स्पष्टीकरण सोधिसकेको छ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्र सांसदहरुले हिजो बुधबार पाइसकेका छन्। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

चारदेखि जारी बैठकमा नेपाल पक्ष भने अनुपस्थि हुँदै आएको छ। हिजोको बैठकले संविधानको धारा ७६ (५) लाई सच्याउन पहल गर्ने प्रस्ताव पारित गरेको छ।

सर्वोच्च अदालतले २८ असारमा सुनाएको फैसलामा धारा ७६ को उपधारा (५) का सन्दर्भमा गरिएको व्याख्या निर्दलीयतालाई प्रश्रय दिने खालको भएकाले त्यसलाई संशोधन गर्नेसहितको प्रस्ताव पारित भएको प्रवक्ता ज्ञवालीले बताए।

हिजो नै बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले स्पष्टीकरणले एकतामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको थियो। यद्यपि, एकताका लागि पहल जारी राख्ने निर्णय भएको छ।

उता, केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले आफूलले नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएपनि उनले नमानेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्