कर्णाली राजमार्गमा पहिरो जाँदा अवरुद्ध

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : ३२


मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताउनुभयो। “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उहाँले भन्नुभयो, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ।”

पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिनुभयो।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो।

“पहिरो पन्छाउने काम भइरहेको छ।” उहाँले भन्नुभयो, “आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ।”

त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ।

पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताउनुभयो । “उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ”, उहाँले भन्नुभयो। रासस


प्रतिक्रिया दिनुहोस्