हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ : नेतृ झाँक्री

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ३१


नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठक सकिएको छ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको हो।

मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताउनुभयो।

उहाँले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताउनुभयो।

हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भन्नुभयो, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ।

अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको बताउनुभयो।

त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताउनुभयो।

साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो। सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन, नेतृ झाँक्रीले भन्नुभयो, हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ।

गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी छ। रासस


प्रतिक्रिया दिनुहोस्