नेपाल निवासमा राजनीतिक चहलपहल : प्रचण्ड बाहिरिएलगत्तै उपेन्द्र यादवको प्रवेश

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ०३


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यावदबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ।

प्रचण्ड र यादवले नेपालनिवास कोटेश्वर पुगेर नेता नेपालसँग छुट्टाछुट्टै भेतवार्ता गरेका हुन्।

नेपाललाई भेट्न प्रचण्ड मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका थिए। करिब एक घण्टाको छलफलपछि प्रचण्ड बाहिरिएका थिए। प्रचण्ड बाहिरिएलगत्तै यादव नेपालनिवास पुगेका हुन्।

नेपालसहित एमालेका २२ सांसदले पार्टी निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। एमालेको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज दिउँसो ३ बजे बस्ने एमालेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई कारबाही गर्ने सम्भावना छ।

प्रचण्ड र नेपालबीच स्पष्टीकरण सोध्ने केपी ओली पक्षको निर्णय, समसामयिक राजनीति र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।

प्रचण्डले नेता नेपालको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका छन्। नेता नेपाललाई केही दिनदेखि जनै खटिरा आएको छ।

मन्त्रिपरिषद विस्तारबारे पनि भेटमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन भनिरहेका छन् भने यसमा नेपाल समूहले निर्णय गरिसकेको छैन।

प्रधानन्त्री शेरवहादुर देउवाले माधव पक्षको सरकारमा सहभागिताको सन्दर्भमा निर्णय आएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेताहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्