एमालेको केन्द्रीय कमिटी बैठक आज पनि, स्पष्टीकरण सोधिएका सांसदलाई कारबाहीको निर्णय गरिने

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ११


नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो तीन बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

एमालेको केन्द्रीय कमिटीको १० औं बैठक हिजो सोमबारदेखि सुरु भएको छ। आज त्यही बैठको निरन्तरता हो।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल हुने ज्ञवालीले केन्द्रीय कमिटी बैठकले पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको थियो।

तर, सांसदहरुले यसबारे कुनै जवाफ दिएका छैनन्। प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन्।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि कारबाही गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

यसअघि आइतबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवाविरुद्ध मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो। तर, ह्वीप उल्लंघन गर्दै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका गरी २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए।

प्रतिनिधि सभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि संसदको पहिलो ठूलो दल एमाले प्रमुख प्रतिपक्ष बनेको छ। जसका कारण एमालेभित्रको एकता पनि अन्योलमा परेको छ।


प्रतिक्रिया दिनुहोस्