माधव नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : ०४


काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको केन्द्रिय कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको बताउनुभएको छ।

उहाँले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मंगलवार ३ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको बताउनुभएको हो।

बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गर्नुभएको आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ । केन्द्रिय कमिटीको १० औँ बैठक २०७५ जेठ २ को सिलसिलामा जोडेको बताउँदै प्रवक्ता ज्ञवालीले अहिले विकशित भएको घटनाक्रमले नेपालले हाँसिल गरेका अग्रगतिका प्रयासहरु, माथिको एक खालको धक्काको रुपमा पार्टिले लिएको बताउनुभएको छ।

आईतवार पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभयो, यो पार्टी अनुशासनको दृष्टि, कम्युनिष्ट आन्दोलनको आदर्शको दृष्टिले जनताको भावनाको दृष्टिले सबै दृष्टिले सर्वथा अनुचित छ, प्रवक्ता ज्ञवालीले भन्नुभयो, उहाँहरुको यो कार्य अनुशासन हीन र गलत छ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम, विशेष गरेर आईतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा, संसद भित्र देखिएका परिदृश्य, त्यसले नेकपा एमालेको जीवनमा पारिरहेका प्रभावहरु, यसका विविध आयामहरुको बारेमा चर्चा गर्नुभएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभएको छ।

त्यस्तै केन्द्रिय कमिटी बैठकले फ्लोर क्रस गरेर देउवालाई मत दिने २२ जनालाई २४ घण्टामा स्पष्टीकरण दिन भनेको छ।

फ्लोर क्रस गर्ने सांसदले २४ घण्टामा स्पष्टिकरण दिनुपर्छ, अहिले स्पष्टिकरण मागिएको हो, यदि आएन भनेँ र उहाँहरुले दिएको स्पष्टिकरणको आधारमा पार्टीले कारबाही गर्छ, प्रवक्ता ज्ञवालीले भन्नुभयो, १० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देउ, पार्टीको अवक्षा उल्लंघन गर, भन्दैन, पार्टीलाई एकत्रित बनाउँछ।

प्रवक्ता ज्ञवालीले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिन आवश्यक नरहेको बताउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले १० बुँदे प्रस्ताव नमान्ने र ठाडो कुरा गरेकोले यो अवस्था आएको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्