प्रधानमन्त्री देउवाले भने- अब पार्टीका बैठक बालुवाटार राख्दिनँ

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ५३


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने विश्वास दिलाएका छन्।

कांग्रेस सरकारमा गएलगत्तै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए। देउवाले पदाधिकारी बैठक बालुवाटारमै गरेपछि यसको चौतर्फी आलोचना भइहरेको छ।

यसै सन्दर्भमा कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरूले देउवालाई पार्टीको बैठक बालुवाटारमा नराख्न आग्रह गरेका छन्। आफूले देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेको नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जनाएका हुन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ’, थापाले लेखेका छन्, ‘यो विश्वासलाई कामय राखिदिनुहोला।’

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक राखेकोमा गगन थापा लगायतका कांग्रेस नेताहरूले विरोध जनाएका थिए। तर, अहिले आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार हुँदा विरोध गर्न नसकेको भन्दै उनीहरूको आलोचना भइहरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्