एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाहीको तयारी

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : ५९


नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दैछ। ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बिहान ११ बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल हुने ज्ञवालीले जानकारी दिए।

आइतबार बसेको स्थायी कमिटी बैठकको निर्णयविपरीत एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका थिए। त्यसमा अध्यक्ष केपी शर्मा ओली पक्षका ८ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदले देउवाका पक्षमा मतदान गरेका थिए।

माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम, प्रेम आलेले देउवालाई विश्वासको मत दिएका थिए।

यस्तै, धनबहादुर बूढा, बिना बूढाथोकी, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, निरा जैरी, रामकुमारी झाँक्री, कलिला खातुन, समिना हुसेन र कृष्णलाल महर्जन पनि देउवालाई विश्वासको मत दिएका थिए।

पार्टीको निर्णयविपरीत मतदान गर्ने सांसदहरूलाई कारबाही गर्ने विषयमा समेत बैठकमा छलफल हुने ज्ञवालीले बताए।

‘समसामयिक राजनीतिक, पार्टीको आन्तरिक एकता र पार्टीको निर्णयविपरीत प्रधानमन्त्रीलाई विश्वासको मत दिने साथीहरुका विषयमा बैठक छलफल हुनेछ’, ज्ञवालीले दैनिक अनलाइनसँग भने।

यसअघि शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने, प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने, सर्वोच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो।

आइतबारको बैठकले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर, एमालेका २२ सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मत दिएपछि देउवाले प्रतिनिधि सभाको १६५ मत पाए। यससँगै प्रतिनिधि सभाको बाँकी कार्यकाल देउवा नै प्रधानमन्त्री हुने भएका छन्।

प्रतिनिधि सभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि संसदको पहिलो ठूलो दल एमाले प्रमुख प्रतिपक्ष बनेको छ। जसका कारण एमालेभित्रको एकता पनि अन्योलमा परेको छ।

आइतबार मात्र नेपाल पक्षबाट कार्यदलका संयोजक रहेका सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्