आजदेखि जोन्सनको खोप अभियान सुरु, प्रधानमन्त्रीले खोपकेन्द्र निरीक्षण गर्ने

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : ०८


आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सन एण्ड जोन्सनको कोभिड खोप अभियान सुरु हुँदैछ।

अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन लागिएको हो। यो खोप एक पटक लगाए मात्रै लगाए पुग्नेछ।

जाेन्सनकाे १५ लाख ३४ हजार ४५० डाेज काेभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएकाे हाे।

खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरु, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहने बताइएको छ।

साथै, यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइनेछ। खोप अभियानको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिसकेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइन लागेको बताए। अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।

यसैबीच, प्रधामन्त्री शेरबहादुर देउवाले आज उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने बताइएको छ।

प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने बताइएको छ।

यसअघि आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिएका थिए। प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने भन्दै आफ्नो प्राथमिकता खोप नै भएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्