प्रेम आले सहित ओली पक्षका ८ सांसदद्वारा माधव समूहसँगै ‘फ्लोर क्रस’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०४


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरित माधव नेपाल पक्ष र अ‍ोली पक्षकै सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

आजै ओलीको अध्यक्षतामा सम्पन्न एमालेको स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत दिनेहरुलाई पार्टीबाट निकाला गर्ने निर्णय गरेको थियो।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको मतदानमा १६५ मत पाएर देउवा नेतृत्वको सरकार जोगिएको छ।

आज ओली पक्षबाट देउवा सरकारलाई विश्वासको मत दिनेमा हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठ रहेका छन्।

पूर्व वनमन्त्री समेत रहेका ओली पक्षका नेता प्रेम आले यसअघि मन्त्री पद माग्दै शेरबहादुर देउवाको घर बूढानीलकण्ठमा पुगेको खबर सार्वजनिक भएको थियो। तर, त्यसको उनले खण्डन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्