ओलीलाई चेतावनी दिँदै प्रचण्डले भने-‘आगोसँग खेल्नु राम्रो होइन’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : १४


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माआबादी जनयुद्ध बारे नेकपा एमालेका सांसद प्रदिप ज्ञावलीले गरेको टिप्पणीले परिवर्तनका लागि भएका आन्दोलनको अपमान गरेको बताउनु भएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत बारे धारण अध्यक्ष प्रचण्डले नेता ज्ञावलीलाई सम्बोधन गर्दै शान्ति सम्झौता गर्नु गलत थियो भन्ने आशय ब्यक्त गर्नु दुखद भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “तपाइले शान्ति सम्झौता गलत थियो भन्न खोज्नुभएको हो ? माओवादीले लोकतन्त्रको पक्ष लिनहुन्न भन्न खोज्नुभएको ? माओवादीले चाहीँ संविधानको पक्षमा बोल्न हुन्न ? बरु मैले के देख्छु भने नेपालको इतिहासमा जो जति पछि हतियार उठाएर शान्ति प्रक्रियामा आए ती लोकतन्त्रप्रति उदार देख्या छु मैले त।“

यस्तै बैठकमा बोल्दै अध्यक्ष दाहालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन नगरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो।

“मैले यहाँ आएपछि ३ पटक निवर्तमान प्रधानमन्त्री केपी जी आउनु हुन्छ, बोल्नु हुन्छ भनेर प्रमुख सचेतकलाई सोधे । उहाँले आउनु हुन्छ, बोल्नु हुन्छ भन्नु भयो।” उहाँले भन्नु भयो, “मैले सामान्य रुपमै के सोचेको थिए भने पुनस्र्थापित प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतले पनि, प्रतिपक्ष दलको नेताको हैसियतले पनि यो सदनमा केपी जीको मुखबाट नयाँ आफ्नो कुरा यो सदनले सुन्न चाहेको थियो । र देशले पनि आजको दिन सदनको रोष्टमबाट निवर्तमान प्रधानमन्त्रीले के चाँही भन्नु होला भन्ने सुन्न चाहेको थियो, त्यो पनि भएन । बिरामी भएर हो वा अरु केही भएर हो, उहाँले बोल्नु भएन । मलाई यसमा अस्वभाविक महसुस भएको छ ।” अध्यक्ष दाहालले ओलीको सो संस्कार लोकतान्त्रिक हो कि होइन ? भनेर प्रश्न पनि गर्नु भयो।

अध्यक्ष दाहालले निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न पनि आग्रह गर्नु भयो।

माओवादी आन्दोलनलाई केही होइन भनेर नसोच्न पनि ओलीलाई अध्यक्ष दाहालको चेतावनी थियो।

“माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका हुन्छ।” अध्यक्ष दाहालले भन्नु भयो, “आगोसँग खेल्ने कुरा राम्रो होइन।”

अध्यक्ष दाहालले अदालतले संविधान सम्मत ढंगले फैैसला गरेको दावी गदै त्यसलाई अन्यथा अर्थ नलगाउन पनि एमालेलाई सचेत गराउनु भयो।


प्रतिक्रिया दिनुहोस्