प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत प्रस्ताव

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २८


प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उहाँले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभयो।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन्। विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ।”

राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो।

उहाँले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाउनुभयो।

नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभयो, “मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ।”

मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गर्नुभयो।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहनुभएको छ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ। रासस


प्रतिक्रिया दिनुहोस्