भीम रावलको राजीनामा उपयुक्त छैन : वामेदव गौतम

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ४४


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भीम रावलको राजीनामा उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।

वामदेवले भने, ‘भीम रावलले राजीनामा दिनु आवश्यक नै थिएन। विश्वासको मत दिने भए सर्वोच्चको आदेश अनुसार दिनसक्नुहुन्थ्यो। नदिने भए स्वविवेक प्रयोग गर्न सक्नुहुन्थ्यो। राजीनामा उचित हैन।’

संविधानको धारा ७६को उपधारा ५ अनुसारको सरकार गठनका बेला सरकारको पक्षमा वा विपक्षमा मत दिने वा नदिने भन्ने विषय सांसदको स्वविवेकीय अधिकार भएको भनेर सर्वोच्च अदालतले व्याख्या गरिसकेको अवस्थामा रावलको राजीनामा अनुपयुक्त भएको गौतमको जिकिर छ।

सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर अध्यक्ष ओलीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमले बताए।

उनले भने, ‘यदि कारवाही भयो भने भोली फेरि सर्वोच्चले पार्टीमा राख भन्छ। यसमा डराउनुपर्दैन।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिँदैछन्।

मतदान अगाडि नै एमाले नेता रावलले पदबाट राजीनामा दिएका हुन।

उनले भनेका छन्,’म यो अनैतिक राजनीतिको खेलबाट अलग हुन चाहन्छु।’


प्रतिक्रिया दिनुहोस्