आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ११


प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन्। संसद् सचिवालय स्रोतका अनुसार देउवाले आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएका हुन्।

सर्वोच्च अदालतको परामादेशपछि कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

विश्वासको मत लिन ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसो हुँदा आफूले विश्वासको मत नपाउने आकलनसहित देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेका सहित १७ जना, राजमोका १ र स्वतन्त्र सांसद् १ जनाले देउवालाई मत दिने तयारी छ। यसो हुँदा देउवाको पक्षमा १५१ मत पुग्छ।

जसअनुसार देउवालाई विश्वासको मत पुग्नेछ। एमालेका माधवकुमार नेपाल पक्षका सांसद् मेटमणि चाैधरीले आफूहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइसकेका छन्।

नेपाल पक्षका अर्का सांसद झपट रावलले आफूहरूको कार्यभार संसदको निरन्तरता र आत्मसम्मानसहितको पार्टी एकता रहेको सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेकपा (एमाले)ले संस्थागत रुपमा भने सरकारलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेको छ। तर, प्रवक्ता प्रदीप ज्ञवालीले ह्वीप जारी नगरिने बताएका छन्। सर्वाेच्च अदालतले फ्लोर क्रस गर्दा पनि कारबाही नहुने फैसला सुनाएकाले कसैलाई ह्वीप जारी नगर्ने ज्ञवालीले साउन १ गतेको बैठकपछि भनेका थिए।


प्रतिक्रिया दिनुहोस्