जसपाको आधिकारिकता टुंग्याउने निर्वाचन आयोगको तयारी, आजदेखि इजलासमा सुनुवाइ

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ५९


निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता टुंग्याउने तयारी थालेको छ। यसका लागि आयोगको इजलासमा आजदेखि सुनुवाइ हुँदैछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा रहेको इजलासमा आजदेखि सुरु हुने सुनुवाइ सकिएपछि आधिकारीकताको टुंगो लाग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। जसपाको आधिकारिकता नपाउने पक्षलाई आयोगले नयाँ दल दर्ताका लागि समय दिने उनको भनाइ छ ।

जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकािरकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागिएको हो ।

जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् ।

यादव नेतृत्वको समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उभिने निर्णय गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो ।

ठाकुर पक्षले आफ्ना माग पूरा गर्न ओली सकरात्मक रहेको भन्दै ओलीको नेतृत्वमा सरकार बनाउन समर्थन दिएको थियो । यो पक्षबाट ११ जना मन्त्री ओली क्याबिनेटमा समावेश भएका थिए । तर, सर्वाेच्च अदालतले एक महिना नपुग्दै सबै मन्त्रीलाई पदमुक्त गरिदिएको थियो ।

सर्वाेच्चको पछिल्लो फैसलापछि महन्थ-राजेन्द्र पक्षमा रहेका केही सांसद उपेन्द्र-बाबुराम पक्षमा लागेका छन् । शनिबार मात्र ठाकुर पक्षका पाँच सांसद यादव पक्षको बैठकमा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्