संसद् अधिवेशन आजदेखि, यस्तो छ आजको सम्भावित कार्यसूची

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५०


सर्वोच्च अदालतको फैसला अनुसार संघीय संसद्को अधिवेशन आज आइतबार सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।

बैठकको कार्यसूची टुंग्याउन कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान १० बजे बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन्।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ।

यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ।

कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला सुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ।

नयाँ परिवेशमा नयाँ ढङ्गले जनताको आशालाई विश्वासमा परिणत गर्न सहकार्य र सहमतिका साथ संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील तथा परिपक्क तुल्याउन यसपटकको अधिवेशनले दललाई ठूलो अवसर प्रदान गरेको छ।

सर्वोच्च अदालतको गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थाना हुने निर्णय सुनाएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारी गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्