क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमाथिको आक्रणम निन्दनीय : कांग्रेस

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ०५


नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणको निन्दा गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका घिमिरेमाथि गरिएको आक्रमणले अनुशासित सदस्यको परिचय दिन नसक्ने कांग्रेसले बताएको छ।

क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समेत घटनालाई गम्भीरतापूर्वक लिएको उनले जनाएका छन्।

प्राप्त छोटो समय र कोभिड महामारीकाबीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च स्रहाना गरेको उनले जनाएका छन्।

समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहका नेतृत्व र सदस्यको जिम्मेवारी रहेको भन्दै शर्माले सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्