प्रदेश २ सरकारमा माओवादी पनि सहभागी, आज दुई मन्त्रीको शपथ

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : २४


प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र) पनि सहभागी हुने भएको छ। माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो।

माओवादीले प्रदेश संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय गरेको छ। सरकारमा सहभागी हुने माओवादी तर्फका दुई मन्त्रीको आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ।

अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमति भएपछि सरकारमा जान लागेको माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए। यद्यपि, कुन मन्त्रालय दिने भने अझैं निश्चित भएको छैन। ‘यी दुईमध्ये एउटा मन्त्रालय दिने भन्ने भएको छ। आज दिउँसोसम्म यो विषय टुंगिन्छ। सरकारमा जाने भने निश्चित भएको छ’, साहले दैनिक अनलाइनसँग भने।

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का लालबाबु राउत मुख्यमन्त्री छन्। जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेरका थिए। मुख्यमन्त्री राउत यादव पक्षका हुन्।

गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी भएको थियो। कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी भएको थियो। कांग्रेसका यादवलाई भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश शर्मालाई ऊर्जा तथा सिचाई र वीरेन्द्र सिंहलाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको छ।

सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियोर तर, ठूला दुई मन्त्रालय मागेपछि सहमति जुट्न सकेको थिएन। यसअघि तत्कालीन राजपा र जसपाले सत्ता सहकार्य गरेका थिए। तर, जसपाभित्रको आन्तरिक विवादपछि मुख्यमन्त्री राउतको सत्ता निरन्तरताका लागि कांग्रेस र माओवादीसँग सहकार्य भएको हो।


प्रतिक्रिया दिनुहोस्