धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ५१


धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका दुई बालक रहेका छन्।

धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका ६ वर्षीय छोरा आशिकको मृत्यु भएको हो। दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। त्यसैगरी, महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो।

उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्