बालुवाटारमा काँग्रेसको पदाधिकारी बैठक सम्पन्न

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : २९


काठमाडौं । यसअघिका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिको गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सम्पन्न भएको छट।

बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जानकारी दिए।

उनले भने – ‘केन्द्रीय क्रियाशिल छानविन समितिमा हामीले अब हाम्रो कामलाई अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ । हाम्रो काम अलमोष्ट सकिएको अवस्था छ। र हामीले आज सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय पनि माग गरेका छौँ । आदरणीय सभापतिजी, प्रधानमन्त्रीजीको कार्यव्यस्तताको कारणले भोली पर्सि जुनदिन उहाँलाई फुर्सद हुन्छ हामी प्रतिवेन बुझाउछौँ भनेर भनेका छौँ। र क्रियाशिल सदस्यता सम्बन्धी काम टुंगोमै पुग्ने स्थिति भएको छ भने निर्वाचन सँग सम्बन्धित कामपनि अगाडी बढेको छ। निर्देशिका मस्यौदा भएको छ। आज त्यो निर्देशिका प्रस्तुत भएको छ। त्यो निर्देशिकालाई पनि अब अन्तिम रुप दिनका लागि पार्टीको सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन समितिका साथीहरुसँग बसेर निर्देशिकालाई अन्तिम रुप दिने भन्ने कुरापनि भएको छ भने त्यसरी नै समायोजन समितिको पनि अहिले सम्मका निर्णयहरु र आगामी दिनमा कसरी कार्यान्वयनमा जाने भन्ने विषयमा केन्द्रीत भएर छलफल भएको छ।’

उनले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको बताए। विदेशमा समेत गरेर कांग्रेसको क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्