चीनले नेपाललाई थप १६ लाख कोरोना डोज दिने

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०७


काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवासमा आज अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो।

राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले बताएको छ।


प्रतिक्रिया दिनुहोस्