प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : २३


काठमाडौं । नेकपा (एमाले)ले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो।

शुुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय पालना गर्न पनि पार्टीका प्रतिनिधिसभाका सदस्यहरुलाई निर्देशन दिएको पनि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो।

उहाँले भन्नु भयो, “अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभाका सदस्यहरुलाई यस निर्णयको पालना गर्न निर्देशन दिइएको छ।”

एमालेले देश र जनताको हितमा केन्द्रित भई सक्रिय एवम् रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेको छ।

बैठकले पार्टी भित्रका समस्या समाधानका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्य दल विघटन पनि गरेको छ।

कार्यदलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो।

“पार्टीको समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्य दलले तयार गरी बैठक समक्ष प्रस्तुुत गरेको प्रस्ताव ग्रहण र अनुमोदन गरिएको छ,“ उहाँले भन्नु भयो,“सो प्रस्तावलाई सृजनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । कार्य दलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिँदै विघटन गर्ने निर्णय पनि गरिएको छ ।”

१० सदस्यीय कार्य दलले गत असार २७ गते राति एमाले एकताका लागि दश बूँदे सहमति गरेको थियो।

बैठक चलिरहँदा पुगेका माधव नेपाल पक्षका नेताहरुले भने आज बोलाइएको स्थायी समिति बैठक र संसदीय दलको बैठक रोक्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । तर नरोकिएपछि उनीहरु बैठक स्थलबाट बाहिरिएका थिए।


प्रतिक्रिया दिनुहोस्