पूर्वसहकर्मी बाबुरामलाई भेट्न पुगे नेकपा महासचिव विप्लव

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५०


नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

आफ्ना पूर्वसहकर्मी भट्टराईलाई भेट्न विप्लव शुक्रबारै बिहानै भट्टराईनिवास पुगेका थिए। विप्लवसँगै नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि भट्टराईनिवास पुगेका थिए।

भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डेले निकै लामो समयपछि राजनीतिक भेटवार्ता भएको बताएका छन्।

नेकपा महासचिव विप्लवले केहीदिनदेखि राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीबार नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका उनी सक्रिय रहेका छन्।

तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै ओली विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिएका छन्।

अहिले विप्लवका १३० जनाभन्दा धेरै नेता कार्यकर्ता विभिन्न कारागारमा रहेका छन् भने त्यति नै मुद्दा फिर्ता लिन बाँकी रहेको नेताहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्