राखेप सदस्यसचिवको नेतृत्वमा १० सदस्यीय टोली आज जापान जाँदै

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : १३


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार जापान जाने भएको छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले टोकियो ओलम्पिकमा नेपालको ‘सेफ द मिसन’ रहेका सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबा जापान प्रस्थान गर्ने जनाएको छ।

सदस्य सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन्।

दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेकी छिन्। जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने छन्।

त्यस्तै, सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्यनारायण श्रेष्ठ जापान जाने छन ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदसीय टोली जापान जाने छन ।

अध्यक्षको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्वय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ रहेका छन्।

यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उपमहासचिव पिताम्बर तिम्सिना रहेका छन्।

यसअघि पौडीका तीन सदसीय नेपाली टोली जापान पुगिसकेका छन्। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिमको सहभागिता हुनेछ।

ओलम्पिकमा सहभागी जनाउने नेपाली टोलीलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्