सांसद र कर्मचारीको आज कोरोना परीक्षण हुँदै

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : १६


संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ।

शुक्रबार बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको छ।

संघीय संसदका प्रतिनिधि र राष्ट्रिय सभा दुवै तर्फका सांसद, मर्यादापालक तथा कर्मचारीको कोरोना परीक्षण गराउने तयारी भइसकेको पाण्डेले बताए।

स्वास्थ्य मन्त्रालयसँग छलफल भएर एन्टिजेन विधिबाट सबैको कोरोना परीक्षण गर्ने निर्णय भएको उनले बताए। कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सय जना हुने पाण्डेको भनाइ छ।

संघीय संसद्को बैठक बस्ने तयारी भएसँगै संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरिसकेकी छन्।

राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ३ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे बस्नेगरी आह्वान भएको छ। सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन फैसला सुनाएको थियो।

संसद् सचिवालयले संसद बैठक सञ्चालनका लागि तयारी पूरा भएको जनाएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बैठक सञ्चालनको तयारी पूरा भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्