पूर्व शिक्षामन्त्री श्रेष्ठमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ८ : १४


काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेद मुद्धामा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश दिएको छ।

रुपा सुनारले घरबेटी सरस्वती प्रधान र शिक्षामन्त्री श्रेष्ठलाई विपक्षी बनाएर अदालतमा मुद्धा दायर गरेकी थिइन्।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदिकाले सरस्वती प्रधानविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’।


प्रतिक्रिया दिनुहोस्