विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : २५


काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले सो आदेश दिएको हो।

नेता सुदर्शनकी पत्नी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको हो।

मानवीय दृष्टिकोणबाट संवेदनशिल भई अस्पताल भर्ना भएको अवस्थामा उनलाई थुनामै राख्ने जिल्ला र उच्च अदालतको आदेश बदर गरेको सर्वोच्चले जनाएको छ।

‘पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षका लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला’, आदेशमा भनिएको छ।

विप्लव समूहमा प्रभावशाली मानिने नेता वली हाल हृदयघातका कारण गंगालाल अस्पतालमा उपचार गराइरहेका छन्।

नख्खुस्थित एनसेलको मुख्यालयमा विस्फोटको अभियोगमा २ बर्षअघि नेता वली पक्राउ परेका थिए। ललितपुरस्थित एनसेलको टावरमा बम बिस्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी मुद्धा लगाइएको थियो।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिको ३ महिना वित्दा पनि कार्यान्वयन भएको छैन। कार्यान्वनमा नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्