आमा यो सरकार भनेको को हो ?

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १२ : ४७


विकास खोज्ने मेरो गाउँमा दमन पुग्यो अरे
हलो जोत्ने साने दाइलाई गोली ठोकियो रे
चेलीबेटी चिहिल बिहिल कस्तो अनर्थ भो
यो सरकारलाई के मात लाग्यो अब के हुने हो ?

विश्वभक्त दुलाल (आहुति) ले लेख्नु भएको यो गीत गुनगुनाउँदै दाउराको भारी मिलाउँदै गरेकी मेरी आमालाई म आफ्नो सानो डोकोमा सकी नसकी नाम्लो मिलाउन छोडेर गीतको हरफ टिप्दै सोध्छु ‘आमा यो सरकार भनेको को हो’?

झन्डै दुई दशक भन्दा अगाडि चैत्र महिनाको दिन जङ्गलमा दाउराको भारी मिलाउँदै गरेकी मेरी आमालाई मैले सोधेको प्रश्न हो यो। अन्तिम परीक्षा सकेर नयाँ शैक्षिक सत्र कुरेर बसेकी फुर्सदिलो म, आमासँगै दाउरा र घाँसको भारी बोक्न पछिपछि लागेर हिँड्थे। हाम्रो तिर वर्षा लाग्नु भन्दा अगाडि नै दाउरा थुपारे राख्ने चलन थियो। त्यसैले फागुन र चैत्र महिनाको बिहानीहरू जङ्गलमा बित्थे आमाका।

दिउसोको चर्को घाम छल्न आमा प्राय बिहान झिसमिसेमै सबै काम सकेर जङ्गल पुग्नु हुन्थ्यो। मैले सारै दुख दिए पछि आमाले मेरो लागि सानो डोको बनाई माग्नु भएको थियो खड्का बा सँग। त्यो पहिलो दिन थियो मैले आफ्नै डोको बोक्न पाएको।

एक सुरले भारी लगाउँदै गरेकी मेरी आमालाई मेरो प्रश्नले पुलुक्क मलाई एक नजर लगाउने बनायो।आमाको नजरलाई फेरि प्रति प्रश्न गर्दै मैले सोधे ‘को हो क्या यो सरकार भनेको ?, अनि किन मातेको भनेको त ? आमा हातमा भएको दाउरा डिकोमा राखिसकेपछि एक छिन टक्क अडिनु भयो। आमाको शान्त प्रतिक्रिया तोड्दै र अनुहारको भावदेखि डराउँदै बिस्तारै फेरि सोधे ‘सरकारलाई मात लागेको छ अब के हुने हो भन्या हैन गीतमा ? आज बुझ्न सक्छु म आमाको त्यो शान्त प्रतिक्रियाको भाव। राज्य पक्षबाट मारिएर गुमाउनु पारेको भाइको आलो घाउ र जेल पर्नु भएको बुबाको कुनै बखत अशुभ समाचार आउला कि माइती गाउँबाट भन्ने पिरले पोलिरहेको रहेछ त्यस बखत।

आमाले यस्ता खाले गीतहरू धेरै गाउनु हुन्थ्यो, यो गीत पनि धेरै पटक गाएको सुनेको थिए केही हरफहरू मेरो मेरो बाल मस्तिष्कमा पनि छापिएको थियो तर यसरी गीतमाथिको प्रश्न पहिलो थियो। आमाले छ वर्षकी छोरीबाट यस्तो खाले प्रश्नको अपेक्षा गर्नु भएको थिएन सायद। मैले धेरै थरी नाम गरेका मान्छेहरू मातेको सुनेको र देखेको थिए तर यो सरकार मतेको सुनेको र देखेको थिइन, आमाले गाउने गीतमा बाहेक। त्यसैले सोधेको थिए।

देश चलाउनेलाई सरकार भन्छन् क्या, आमाले मेरो हातमा भएको सानो डोको खोस्दै भन्नु भयो। सरकार रक्सी खाएर मातेको भनेको हैन, रक्सी खाएर होस गुमाएको मान्छेले जस्तो मनलाग्दी गर्‍यो भनेको। हामी जस्तो मान्छेलाई जनता भन्छन्। जनतालाई दुख दियो भनेको हो क्या, दाउराका चोइटाचाइटी मेरो डोकोमा राख्दै आमा भन्दै हुनुहुन्थ्यो। लुटपाट, कुटपिट, लडाइ, मान्छे मार्ने गर्‍यो, होस गुमाए जसरी जनतालाई दुख दियो भनेको हो। हामीलाई हेर कति दुख देकोछ दिनरात, भन्दै लामो सास फेर्नु भयो मैले थाहा पाउने गरी।

आमाले बोलेको अन्तिम वाक्यले मैले सरकार भनेको को हो र कसरी मातेको छ भन्ने केही हद सम्म अड्कल्न समर्थ भए। कुरा भोगाइको न थियो, सायद यही भएर भनिएको होला पढेर भन्दा परेर बढी जानिन्छ।आमाले मेरो बाल मानसिकतालाई मध्यनजर गर्दै जबाफ दिनु भएको थियो सायद। हामीले दैनिक भोगेका दुख, मर्ने र बाच्ने बेठेगान जिन्दगी मेरो आँखा अगाडि झल्झल्ति आयो। हामी सधैँ त्रिपक्षीय चपेटामा बाचिरहेका हुन्थ्यौ। त्रिपक्षीय होम भिजिट हुन्थ्यो एकै दिन कहिलेकाहीँ त। सेना, प्रहरी र मओबादी । दुई चार मिनेटको फरकले गर्दा बाचेका हौ धेरै पटक।

खैर भोगाइका कुराहरु कुनै अर्को पटक उतारौला। हामीले भोगेका दुख अरूले भोगेको स्तरको भन्दा फिक्का लाग्ने हुन सक्छ। जनताले दुवै पक्षबाट पाएका दुख र भौतिक, सामाजिक,आर्थिक,मानसिक पिडा,क्षति अनि दमनको राम्रै अड्कल अनि बोध गर्न सक्छु म।

अहिले मैले दुई दशक भन्दा पहिलेको जस्तै आज पनि सरकार चिन्न प्रयास गरेकी हु। त्यस्तै प्रश्न चिच्याएर आज पनि सोध्न मन लाग्छ ‘आमा सरकार कहाँ छ ? छन् त यत्रतत्र छ, तिन तहमा छ, तर त्यसको आभास कहाँ छ ? दुई दशक भन्दा अगाडि तपाइले गीतमा गाए जस्तै चेलीबेटीहरू चिहिल बिहिल छन्।

कहिले निर्मला कहिले सुस्मिता कहिले भागीरथी कहिले सबिता कहिले सुजिताको जस्तै अनगिन्ती चिच्च्याहट गुन्जिरहन्छ। कुनदिन तिम्रै छोरीको पालो नपर्ला भन्न सकिन्न। त्यत्रो द्वन्दबाट त बचायौ र नयाँ जीवन दियौ तिमीले अब सुशासन र गणतन्त्रबाट सुरक्षित गर्न नसक्ने स्थिति छ। प्रत्येक दिन एउटी आफूजस्तै छोरी, चेली, बुहारीको हत्या, बलात्कार, हराइरहेको समाचारले मन छिया-छिया बनाउँछ अनि फेरि म सरकार खोज्छु आमा।

सरकार छ आमा, अदालतको आदेश कुरेर बसेको छ। सरकार अदालत धाइ रहेछ। घरी विघटन हुन्छ घरी पुनर्स्थापना खुसीमा लड्डु खान्छ। लड्डु खाएको केही दिनमा फेरि जिल खान्छ। सरकार खाइरहेछ आमा। वर्षाले देश बगाईराछ, सरकार मन्त्री बढाइराछ, मन्त्री दोषी छुटाउन धाइराछ, अदालतले मन्त्री खाइराछ। सरकारबाट केही न केही भइराछ आमा।

दुई दशकभन्दा अगाडि तिमिले परिभाषित गरेको सरकारको अर्थ र बहुलापनको सार म अहिलेको सरकारमा पनि हुबहु भेटाउछु आमा।उहिले शब्द चिन्न खोजेको थिए अहिले अर्थ लगाउन खोज्दा उही अनुहार देख्छु। हाम्रो दुख उही छ। पहिले वमवारुद भएर बर्सिन्थ्यो अहिले भूकम्प, लकडाउन, कोरोना, बाढी पहिरो भएर बर्सिन्छ।प्रत्येक वर्ष देश रुन्छ प्राकृतिक विपत्तिले, नयाँ भेरिअन्ट आउँछ, अक्सिजन आउँदैन, ऋण बढिरहन्छ। सरकार हेरिरहन्छ, मन्त्री फेरिरहन्छ। शासन व्यवस्थाको स्वरुप फेरिएको रहेछ प्रवृति उहि त रहेछ त आमा।

सरकार चुच्चे नक्सा छाप्छ, पदक दिँदा नक्सा बिर्सन्छ, गोप्य रूपमा गोयल भेट्छ, लम्पसार पर्छ। खोपमा कमिसन खान्छ, उखान टुक्का भन्छ, हसाउछ। सरकार मनोरञ्जन गराइरहन्छ। अनिश्चितताको घाउले पोलिराछ, सरकार आफै रोइराछ। उसले कसरी हाम्रो आँसु पुस्छ आमारु विपक्षीहरू हेरिराछन्, पक्ष भनिने फुटिराछन्, फेरिराछन्। कसैका सरकार सरकारमै छन्, कसैका सरकार हेरिराछन् – अदालतको दैलोतिर। सरकारहरू नाङ्गो नाच नाचिराछन् ।

कोही आई लभ युु फलानो, तिम्रो आची पनि कस्तो वासना आको भनिराछन्। हामी हाम्रो सरकार भनिराछौ, सरकार म मात्र हो सर्वोपरि भनिराछ। भोट दिने आफ्नै हात कुच्चाउन मन लाग्छ।

भन त आमा त्यो सरकार र यो सरकारमा के फरक छ ? उहिले एउटा सरकार थियो अहिले हजारौँ छन्, टोल टोलमा छन्। हिजो एउटाले चुस्थ्यो अहिले हजारौँले चुसिराछन्। जनताले रगत बगाएर ल्याएको सरकार हो। फरक त छनि है ? यस्तै सरकारको लागि भनेर हो ? तिम्रो भाइ सहिद भएको, बाबा जेल गएको, बैलिने बन्दुक बोकेको, जनताका निर्दोष छोराछोरीले ज्यानको आहुति दिएको ?

हिजो तिम्रो-हाम्रो टाउकोको मूल्य तोकिन्थ्यो, आज अभाव, गरिबी, भोकमरी, महँगी, बोरोजगारिले घाँटी रेटिन्छ। हो फरक त भेटिराछु। संविधान बन्यो, कानुनहरू बने तर तिमिले उहिले परिभाषित गरेको सरकार र अहिलेको सरकारको व्याख्या उस्तै भेट्छु नि आमा। के सरकार भनेको सधैँ यस्तै-उस्तै हुने हो दशकसम्म पनि ? शासन स्वरूप फेरिने, व्यवस्था फेरिने, प्रवृत्ति नफेरिने ? अनि सरकार उस्तै हुने ? हाम्रो दुख उही हुने। हामी सधैँ अनिश्चिततामा बाचिरहनु पर्ने। अझै कति दशक हामीले यस्तै झेलिरहनु पर्ने आमा ?

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्