प्रधानमन्त्री ओली र नेपालबीच वार्ता : कुनै सहमति जुटेन

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ३७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सम्पन्न भएको छ।

मेरियट होटलमा बुधबार साँझ भएको छलफल ‘सकरात्मक’ रहे पनि निष्कर्षविहिन रहेको एकता कार्यदल सदस्य भीम रावलले जानकारी दिए।

आज ओली र नेपालबीच एक्ला एक्लै र कार्यदलका सदस्य सहित २ पटक मेरियट होटलमा वार्ता भएको थियो।

अध्यक्ष र वरिष्ठ नेता नेपालबीच कार्यदल र शीर्ष नेताहरूबीच निरन्तर छलफल जारी राख्ने विषयमा छलफल भएको नेता रावलले बताए ।

दुवै पक्षबीच विविध बिषयमा छलफल भएपनि आज कुनै पनि बिषयमा सहमति जुट्न सकेन।

अब भोलि कार्यदलको बैठक बसेर एकताका बिषयमा दुवै पक्षबीच सहमतिका लागि थप प्रयास गर्ने छ।

भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले भने पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन्।

वार्तास्थलमा रावलका साथै एमालेका महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी थिए।

शीर्ष नेताबीच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो ।

सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिन अघि कार्यदलको बैठक पुनः शुरु भएको हो।

पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघठन गराई नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।

एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा सम्लग्न पार्टीका २३ निवर्तमान सांसद्बाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो।

नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निस्क्रिय भएको थियो।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता माधवकुमार नेपाल पक्षबाट डा रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन।

 


प्रतिक्रिया दिनुहोस्