कैलालीमा ३ दिनदेखि हराईरहेका बालक मृत फेला

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : २४


धनगढी । कैलालीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालक मृतअवस्थामा फेला परेका छन।

टीकापुर नगरपालिका–१ ब्लक नं ८ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्टको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो।बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ।

सोमबार बालक हराएपछि खोजीका लागि भन्दै रातिदेखि नै प्रहरी सक्रिय थियो।

मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी विश्व अधिकारीको टोलीले अनुसन्धान गरिरहेको थियो।

विवेक सोमबार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए।

उनी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए।

पुनमले प्रहरीसँगको बयानमा आफू विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिइन्।

उनले विवेककी आमालाई समेत त्यसै भनेकी थिइन्। नाटकीय रुपमा नाबालक हराएपछि टीकापुर क्षेत्रमा त्रास फैलिएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्