१४ लाख नगद र बैंकको चेकसहित २८ जना जुवाडे पक्राउ

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ०१


नेपाल प्रहरीले १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो।

पक्राउ परेकासँग प्रहरीले रु एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ। पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो। रासस


प्रतिक्रिया दिनुहोस्