नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जो कोही पनि चुनावी प्रतिपर्धामा आउन सक्ने बताउनुभएको छ।
पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दे उहाँले वडा देखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको भन्दै उहाँले योग्य र सक्षम उम्मेदबार आकांक्षीका रुपमा अघि आउन सक्ने बताउनुभयो।
विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उहाँले पुर्खाको योगदान वा पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबै लाई आग्रह गर्नुभयो।
पार्टी भित्रका तीन पुत्र नेताहरुको भेटघाटलाई लक्षित गर्दे उहाँले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापीत हुनुपर्ने दाबी गर्नुभयो।
भेटघाटले सकारात्मक संदेश नदिएको भन्दै उहाँले पार्टीमा ठूलो योगदान दिएका लाखौ नेता कार्यकर्ताहरु रहेको बताउनुभयो।
उहाँले आफु सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभयो।
उहाँले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनितिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्छ।
प्रस्तुत छ, डाक्टर महतसंग महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारीबारेमा न्युज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादितअंश
प्रश्न : महाधिवेशन नजिकिएको छ व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी?
उत्तर : हाम्रो महाधिवेशनलाई कोभिड १९ ले धेरै प्रभावित गर्यो । धेरै पटक कार्यतालिकामा संशोधन गर्नुपर्यो । नचाहदा नचाहदै यो परिस्थिति आयो । तर नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भईरहेको छ । क्रियाशिल सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।
प्रश्न : नेतृत्वलाई लिएर आकांक्षीहरु धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरु र नयाँ आकांक्षीहरु पनि देखिएका छन् । यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?
उत्तर : पार्टीको विधानले कोषाध्यक्ष बाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडा देखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ । यसबाट पहिलो पिंढी रामचन्द्र दाइ, शेर बहादुर दाइ संगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौ । यसले सबै पदहरुमा उम्मेदबार हुने संख्या बढ्यो । यस्तो अवस्थामा निर्वाचनले आफै व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसंग प्रतिष्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ । यसमा चुनौति पनि छ अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ पार्टीमा महत्वपुर्ण जिम्मेवारी लिन तयार छौं । यसको बाबजुद राजनैतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टी भित्रसम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौ । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय होे । पार्टी सम्हाल्ने कुरा बाहिर देखिए जस्तो हुदैन । यसकारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्क नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना टिप्पणीहरु होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।
प्रश्न : यसको अर्थ रामचन्द्र पौडेल, शेर बहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र नीधिलाई एकै ठाउँमा लडाउने हो त?
उत्तर : यस्तो छ कुरा, अहिले उपसभापति दुईजना हुनुहुन्छ । पहिला एक जना हुनुहुन्थ्यो । महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ । यदि हामी संगै काम गरौ फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ । होइन म पछि गर्र्दिन अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ।
प्रश्न : ल फेरि पनि शेर बहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईहरुको राजनीतिक समय, उमेर र भविश्य ५ बर्ष पछाडि धकेलिने छ । यो बारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र?
उत्तर : म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रो अग्रज रहनुभएका दाइहरु हुँदा हुँदै अगाडी बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्र्दभिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौ । हामी केही बर्ष पछि धकेलिनेछौ तर हामी त्यो दाबी गरिरहेका छैनौ । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भईसकेँ सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन । यस्तै अरु साथीहरुले पनि माथि दाबी गरिरहनुभएको छ जस्तै विमलेन्द्र जी पनि हुनुहुन्छ । निर्वाचनको समय आईसकेपछि कतिपय बन्छु भनेका हरु फेरी नबन्ने दाउमा पुग्नुहोला । कतिपय उम्मदवारी नै नदिएका साथीहरु नै अगाडि सर्नुहोला । त्यसकारण अहिलेनै यस्तो भईसक्यो भन्ने अवस्था आईसकेको छैन।
प्रश्न : पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग ३ शिर्ष नेताका सुपुत्रहरु संयोगले सबैको पार्टी भित्र अलग अलग योगदान छ । यसलाई बंश वा नाताले जोड्नुपर्दैन । तीनै जनाको घरमा लञ्च मिटिङ्ग भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टी भित्र दुई समुह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ?
उत्तर : उहाँहरुको भेटघाट मात्रैको कुरा त केही होइन तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सिमित रहेर बैठक बस्यो । यसलाई आम कार्यकर्ता पक्तिले सहज रुपमा लिएको छैन । यो पार्टी समग्र जनताहरुको छोराछोरीहरुको पार्टी हो । उहाँका पिता जी नेताहरुले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ । तर यो पार्टी त मेरो बुबा मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौ।
हामी पार्टी सबै बर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौ। उहाँहरुले जसको बुबाहरु नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सिमित भएर पटक पटक बैठक बस्नुभयो । यसले उहाँहरुको लागि सकारात्मक संदेश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौ नेता कार्यकर्ताहरु छन् सबैको धेरै थोरै योगदान छ । कतिप य अवस्थामा उहाँहरुले गरेको भन्दा बढी योगदान गरेका साथीहरु छन् । यसकारण हामी मिल्यौ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन् । त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिंदा सहज हुन्छ।
प्रश्न : यो प्रसङ्गको अर्को पाटो पनि छ , अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ । मान्नुहुन्छ?
उत्तर : विकल्प खोज्दा नेता पुत्र मा नै सिमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाईन्छ । पिता नेता नभएका अरुपनि योग्य पात्र छन् नि । विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिष्पर्धा छ तर यसमा नै सिमित हुनुपर्छ भन्ने छैन।
प्रश्न : लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र नीधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समुहबाट बाहिरीनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ । यसको मुल्यांकन कसरी गर्नुभएको छ?
उत्तर : शेरबहादुर जीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्र जीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरुले बिमलेन्द्र जीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ । समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ । तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर उहाँ आफै उम्मेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दे अहिले नै छिनोफानो भईसक्या,े अलग अलग बाटो लागिसक्नुभयो भन्ने मुल्यांकन अलि अपरिपक्क हुन्छ ।
प्रश्न : सबैले आ आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन् तर तपाईले गर्नुभएको छैन । तपाईको दाबी कुन पदमा हो?
उत्तर : पार्टी सभापति स्वयम्ले पनि साथीहरुको बीचमा भनेपनि औपचारीक रुपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन। तथापि म सहमहामन्त्री भईसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो। त्यसको लागि योग्यता र पृष्ठभूमि म संग छ। सभापति पदमा शेरबहादुर दाइ आफै लड्छु भनेकाले सभापति पदमा दाबी छैन। म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो। म चुनाव लड्ने हो। महामन्त्री वा उपसभापति पदमा लड्छु। नेतृत्व तहसंग पनि प्रारम्भीक कुरा भएको छ। यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो। मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ।
प्रश्न : फेरि पनि,नेतृत्वले तपाईलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि?
उत्तर : यी कुराहरु भईसकेको छ। यी कुरा नभई म यसरी बोल्ने थिईनँ। त्यो राम्रो पनि हुदैन। हामी संस्कार अगाल्छौ। उत्ताउलो भएर राजनीति कहिलेही गरेनौँ। यस विषयमा छलफल भएको छ। तर औपचारीक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो। तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु।