काठमाडौं । मन्त्रिपरिषद् बैठकले सबै किसिमका उडान खुला गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
अब देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान निषेधाज्ञाअघिकै दिनमा झै सबै खुला हुने भएका छन्।
गत बिहिवार आधा संख्यामा उडान संचालनमा ल्याउने निर्णय गरेको सरकारले नेपाललाई रोक नलगाइएका मुलुकमा अब नियमित उडान सुचारु गर्ने छ।
मन्त्रिपरिषद वैठकको पत्र प्राप्त हुनेवित्तिकै नागरिक उड्डयन प्राधिकरणले उडानलाई नियमित गर्न थप कदम चाल्नेछ ।
सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि हवाई उडान बन्द गरेको थियो।
सबै आन्तरिक उडान ठप्प पारेको ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो।
त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।