एमाले विवाद मिलाउन कार्यदल सक्रिय, भोलि फेरि बैठक बस्ने

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ५१


आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक शुरु भएको हो।

पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघठन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।

सिंहदरबारमा आज बसेको कार्यदलको बैठकले हालसम्मका अनौपचारिक छलफललाई पुनरावलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो।

कार्यदलको अर्को बैठक मङ्गलबार दिउँसो पुनः बस्नेछ।

एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसद्बाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो।

नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निस्क्रिय भएको थियो।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्र पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्ट र रघुजी पन्त, हुनुहुन्छ। अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो।

नेकपा (माओवादी केन्द्र)सँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको बैठक विशेष बैठकबाट भएका निर्णयमा नेताहरु झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्