कांग्रेसद्वारा सुजिताको मृत्यु घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ३३


नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ।

नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभएको छ । मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको भन्नुभएको छ ।

उहाँले यस्ता घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको उल्लेख गर्नुभयो।

उहाँले चितवनको घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराउनुभएको छ। रासस


प्रतिक्रिया दिनुहोस्