कालो टोपी लगाएर सांसदले गरे सरकारको विरोध

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ५१


नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेश जंङ्ग रायमाझीले प्रतिगमन विरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाउनुभएको छ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रुपमा विरोध जनाएको बताउनुभयो।

शिर देखि पाउ सम्म कालो पोशाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफुले कालो झण्डाको रुपमा क्याप प्रस्तुत गरेको बताउनुभयो।

उहाँले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउदै सभामा उपस्थिति सबैलाई देखाउदै भन्नुभयो “मैले सिम्बोलिक रुपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाईरहेको छु।”

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाका जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोशाकमा उपस्थिति भएर सभामा नै प्रतिगमनको विरोध गरेको बताउनुभयो।

उहाँले भन्नुभयो “आजसम्म यो सदनमा म यो रुपमा प्रस्तुत भएको थिईन। आज अर्कै रुपमा उपस्थिति भएको छु । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्ने बेला थियो। संविधानलाई धुजा धुजा बनाएको विरुद्धमा सडकमा निक्लनुपर्ने थियो तर ५ राजनीतिक गठबन्धनको सुझबुझको कारणले सडकमा निस्केर जनतालाई कोरोनाको जोखिमको अवस्थामा पुराउनु हुदैन भनेर सडकमा निस्कन नसकेको अवस्थामा आज म यो सदनमा क्याप लगाएर प्रवेश गरेको छु। सडकमा कालो झण्डा देखाउने अवस्था नभएको कारणले आज सम्माननीय अध्यक्ष ज्यू मार्फत प्रधानमन्त्रीको कदमको विरुद्धमा यो सदनबाट मुलुकले थाहा पाओस् विरोध स्वरुप कालो झण्डाको रुपमा मैले यो क्याप प्रस्तुत गरेको छु । मैले सिम्बोलिक रुपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाईरहेको छु सम्माननीय अध्यक्ष महोदय।”

राष्ट्रियसभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाईसकेको आरोप लगाउनुभएको छ।

प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भईसकेकाले असफल प्रधानमन्त्रीको रुपमा सावित भएको दाबी गर्नुभयो।

उहाँले आफैले पत्रकार सम्मेलन गरेर मैले सरकार चलाउन सकिनँ भन्ने प्रधानमन्त्री ओली अन्य दुई पार्टीको निर्णय भन्दै प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिकोमा पुगेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो “मध्यराती राष्ट्रपति सुतेको बेलामा उठाएर, ढोका ढक ढक गरेर उठाएर विघटन(प्रतिनिधिसभा) गर्नु कतिसम्मको नैतिकताको कुरा हो।”

उहाँले सरकारकै स्वास्थ्य मन्त्रीले भ्याक्सिनको ४ डरल पर्छ भनेको तर अहिले चीनबाट ल्याउन लागेको भ्याक्सिनको प्रति भ्याक्सिन १४ डलर भनिएको भन्दै त्यसबारे सरकारको जवाफ माग गर्नुभयो। ओलीले प्रचण्डसंग गठबन्धन गर्दा केही नहुने अनि अहिले ५ दलिय गठबन्धनमा सहभागी भएको भन्दै नेपाली कांग्रेसलाई प्रचण्ड पथमा गयो भन्ने? कुन मुखले भन्नुभएको हो भनी उहाँले प्रधानमन्त्री प्रति कटाक्ष गर्नुभयो।

उहाँले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले नेपालको संविधान मिचिसकेको दाबी दाबी गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्