ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, ३ घाइते

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ४७


चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेल रहेकी छिन्।

घाइतेमध्ये ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका–११ निवासी ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यसैगरी ७१९६ नम्बरको स्कुटर चालक देवघाटका ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीय सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना दिउँसो २ः५५ बजे भएको हो।


प्रतिक्रिया दिनुहोस्