सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास छ : प्रवक्ता शर्मा

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५९


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन्।

आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताएका हुन।

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधिशहरुको हातमा रहेको बताए।

उनले महामारीबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको पनि बताए।

नागरिकको जीवनलाई रक्षा नगर्ने हो भने त्यो लोकतन्त्र हुन नसक्ने प्रवक्ता शर्माले बताए।

उनले भने–‘न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै होइन। त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ। त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका सम्मानित इजलासका सम्मानित न्यायमूर्तिहरुको छ। त्यसैले हामीले अपेक्षा गर्ने भनेको यो बेलामा न्यायमुर्तिहरुबाट मुलुकको संविधानको पुर्नजिवनको अपेक्षा गर्ने हो। संविधानको संरक्षक बाट संविधानको रक्षा, महामारीबाट जनताको रक्षा। महामारीबाट रक्षा अदालतले गर्दैन। राज्य, सरकारले नै गर्छ। तर सरकारले गरिरहदै गर्दा त्यो सरकारले गर्छ, जुन सरकारको प्रधान विषय राजनीतिक मुद्दा भन्दा पर नागरिकको जीवनको रक्षा गर्ने हुन्छ। नागरिकको जीवनलाई रक्षामा नराखेर कसैले यदी अन्य सबै तमाम कुराहरुलाई केन्द्रमा राख्यो भने त्यो डेमोक्रेसी हुँदैन।’

प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए।

उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए।

उनले भने– ‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ। विद्यार्थीहरु बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जादैँ गर्दा उनीहरु भित्र समानताको समाजका लागि सामाजिक रुपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ।’

नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाए।

नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको उनको जिकिर छ।

उनले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताए।

उनले भने – ‘संविधान पनि मन परेको थिएन। चुच्चे नक्सापनि मन परेको थिएन त्यो शक्तिकेन्द्रलाई। त्यो कारणले गर्दाखेरी पनि संविधानलाई पनि च्यात्नु छ, संसद पनि विघटन गर्नुछ। यो शक्तिको गोटीमा केपी ओली आफ्नो नेतृत्व भएर आगाडी आउनुभएको छ, एउटा मतियारको रुपमा अगाडी आउनु भएको छ। त्यो प्रवृतिको विरुद्धको लडाइँ हो भनेर हामीले बुझ्नु पर्दछ । कुनै व्यक्तिका विरुद्ध होइन यो। प्रवृत्तिको विरुद्ध हो। यो प्रवृतिको विरुद्ध लड्नु छ। तपाईहरुले यो लडाइँलाई अझ पेचिलो बनाउँदै लिएर जानु पर्दछ।’


प्रतिक्रिया दिनुहोस्