शिक्षा मन्त्रीलाई पदबाट हटाउनुपर्ने माग राख्दै रुपाले दिइन् अदालतमा निवेदन

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : ४३


काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुछ रुपा सुनारले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्।

मन्त्री श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सुनारले अदालतमा आज रिट दायर गरेकी छन्।

आफूलाई कोठा भाडामा नदिने घरबेटी, ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाउन पुगेका मन्त्री श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रुपाले रिट दायर गरेकी हुन्।

विपक्षी सबैलाई जातीय छुवाछूतको कसुरमा कारवाही गर्नुपर्ने माग उनको छ।

सुनारले यसअघि थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले आफूलाई कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

पक्राउ परेर जिल्ला अदालत काठमाडौंको आदेश पछि छुटेकी घरबेटी प्रधानलाई लिन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको सुनारको रिटमा उल्लेख छ।

रुपाले शिक्षामन्त्रीलाई तत्काल पदमुक्त गर्न र घरधनी प्रधानलाई पक्राउ गर्ने अन्तरिम आदेश जारी गर्न माग राख्दै निवेदन दिएकी हुन।


प्रतिक्रिया दिनुहोस्