पूर्वमाओवादी सहित एमालेका ८ नेताको स्थायी कमिटीमा बढुवा

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ३०


नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकतालाई बदर गरी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लाई ब्युँताएपछि एमालेको २०७७ साल चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो। तर, सर्वोच्च अदालतले २०७८ जेठ २७ गते फैसला गर्दै सो महाधिवेशन कमिटीलाई वैधता नदिएका कारण एमालेले आजको २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको नेकपा(एमाले)को केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको हो।

बैठकले नेकपा(नेकपा)मा रहदा स्थायी कमिटी सदस्य रहेका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणीचन्द्र थापा, विष्णु रिमाल, रघुविर महासेठ, रघुजी पन्त र बेदुराम भुसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

प्रवक्ता ज्ञवालीले एमालेले बैशाख १२ गते र जेठ १० गते पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावि भएको पनि बताए।

बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान पनि गरेको छ।

प्रवक्ता ज्ञवालीले भने –‘२०७८ बैशाख १२ गतेको दशौँ महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौँ बैठकले पार्टीका नेता, कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो। महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरीत गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावि भएको छ। अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन। यो निर्णय सँगै पार्टी एकतालाई थप सुदृढ गर्ने, एकताबद्ध गर्ने एउटा नयाँ आधार पनि सिर्जना भएको छ। त्यो आधारलाई सम्मान गर्दै, कदर गर्दै, पार्टी एकतामा रचनात्मक, सिर्जनात्मक योगदान गर्न नेता, कार्यकर्ताहरुलाई पार्टीले आव्हान गरेको छ आजको बैठकबाट।’

बैठकले भारतमा उपचाररत एमाले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत गरेको छ।

केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्