ढाका टोपी, अष्ट्रेलिया र अंग्रेजी

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ४९


काम जानु आउँनु मेरो दैनिकी जारी थियो। सधै झै कामबाट फर्कदा कानमा हेडफोन कोचेर आफ्नै सुरमा हिडिरहेको थिए।

टाडा धेरै टाडा उडेका रंगिन चरा,

धरतीमा कहिले फिर्लान्!

अमृत गुरुंगको गीत संगै मेरो मन पनि रंगिन भएर टाडा टाडा कतै स्वप्न सैर गरि रहेको थियो।

अचानक गीत बाट ध्यान हटेर बाटो अलि पर छेवैको पार्कमा बसिरहेका एक वृद्ध सँग आँखा जुध्यो।

उनि म तिरै हेरेर मुस्काई रहेका थिए।

मुस्कान भन्दा पनि उनको शिरको ढाका टोपीले मेरो ध्यान तान्यो।

यसो भनौ उनको टोपीले सग्लो नेपाल सम्झाई दियो।

बेवास्ता गरेर हिड्नै सकिन। उनि तिरै पाईला लम्काएँ।

खुट्टामा स्पोर्ट सु, एडिडास लेखेको ज्याकेट र ट्रयाकमा चिटिक्कै देखिन्थे। आँखामा पावर चस्मा लगाएका। अन्दाजी सत्तरी बर्षका।

नजिकै पुगेर ठिङ्ग उभिए। उनि अकमक्क परे।

मै बोले

बुवा!

पार्क घुम्न आउनु भएको रु भाषिक अपनत्वले होला उनको अकमक्काइ सहजतामा परिणत भयो।

खुशी हुदै बोले। ए बाबु नेपाली नै हुनुहुदो रहेछ। मलाई त्यस्तै लागेर हेरिरहेको थिए। मुहार उज्यालो पार्दै बोले उनी।

हजुर बाबु घुम्नै आएको भन्नु पर्ला। कति घुम्नु बस्नु यो पार्कमा? कति हेर्नु यि खाल(खालका मानिसहरु। दिन/दिनै आयो, यहि बस्यो। वाक्क दिक्क भै सके। यतिखेर उनको मुहारमा चाउरिपन भन्दा दिक्दारीको रेखा बढी देखिन्थ्यो।

मैले सोधे

किन र बुबा दिनै?

घरमा कोहि हुन्न। एक्लै पट्यार लाग्छ। बरु यहि आयो कोहि गफ गर्ने नभए पनि रमित हेरेर दिन काट्न सजिलो नि बाबु।

भने पछि अष्ट्रेलिया मन परेन तपाईलाइ?

म जस्तो बुडाको काम छैन रहेछ बाबु यो ठाउँमा।

सबै आफ्नै सुरमा। म बुडा सँग गफ गरेर को बस्ने?

हाहाहा‘

दुबै जना हाँस्यौ।

हुन त म पनि आएको यत्तिका बर्ष भैसक्यो। अझै यहाँको जीवनशैली सँग छेउ टुप्पो मिलाउन सकेको छैन।

कठै यी बुडा बा!

यहाँ मानिसहरु सँग बाटोमा कोहि चिने जानेको भेट भैहाल्दा एक मिनेट कुराकानी गरेर बस्ने फुर्सद हुन्न। सबै आ-आफ्नै दैनिकीको हतारोमा हुन्छन्।

घरबाट निस्कदा बस स्टप ट्रेन स्टेसन पुग्ने ठिक्क समय हेरेर निस्कन्छन्। पाईला थोरै ढिला चाल्यो भने ट्रेन बस छुट्ने पिर। छुटिहाल्यो भने काममा ढिला हुने।

ढिला भएको कारण जागिर धरापमा पर्ने डर। पल-पल समयको यो गणितमा एक पल घटाउन लोभिनु पर्ने ठाउँ हो यो।

अब भन्नुहोस्, यी बा सँग को कुरा गरेर बस्लान्।

अनि बुवा यहाँ को सँग बस्नुहुन्छ रु फेरि सोधे।

छोरा बुहारी छन् बाबु। उनिहरुले बोलाएर घुम्न आएको।

यहाँ त यस्तै हो बुवा। घर परिवार सँग मजाले बस्ने खाने समय हुन्न।

उनले थपे-हो रहेछ बाबु। छोरा-बुहारी सबै बिहान सँगै खाना खान्छौ। बुहारी नातिनीलाई स्कुल छोडेर काम जान्छिन्।

छोरोले मलाई यहा छोडि राखेर काम जान्छ । काम सकेर छोरा मलाई लिन आउछ। बुहारी नातिनी लिएर आउछिन्। बेलुकि एकछिन भेट हुन्छ।

खै बाबु! उस्तै परे त श्रीमान-श्रीमतीको पनि भेट नहुदो रहेछ यहाँ त! मेरो प्रश्नमा बाु ले वृतान्त बिसाए।
जवाफमा मैले ‘हो नि बुवा’ हाँस्दै भने।

दिनभरि के गर्दै बस्नु हुन्छ त यहाँ?

छेवैको सानो तकिया देखाउदै बोले, यी घरि यहि ढल्किन्छु । कैले यहि वरिपरी डुल्छु।

पहिला/पहिला त नेपाली जस्तो लाग्यो कि सोधिहाल्थेँ। नेपाली हो भनेर।

कति त छक्क परेर हेर्दै जान्थे। कति नेपाली भएर पनि बोल्न गाह्रो मान्दै बेवास्ता गर्थे। कोहि-कोहि बोल्थे।

आजकल त सोध्न छोडिदिएँ बाबु।

कोहि नेपाली जस्तै देखिए पनि नेपाली नहुदा रहेछन्। कोहि नेपाली भए पनि बोल्न गाह्रो मान्दारहेछन्।

घरमा छोरा बुहारी सँग खासै कुराकानी गर्ने समय हुदैन।

नातिनी सानी छे बोलाउन पनि अप्ठ्यारो लाग्छ। उ नेपाली बुझ्दिन म अंग्रेजी।

नातिनीलाई नेपाली सिकाउन भन्यो अंग्रेजी बिग्रन्छ रे।

पट्यार लागिसक्यो बा यो ठाउँमा।

जहाज खुल्नासाथ नेपाल पठाईहाल भन्या छु छोरालाई। खै कैले खुल्ला ?

यति भनि सकेर उनले अनुहार खुम्च्याउँदै खुइया गरे।

म आफैले पनि यहाँ आएर महसुस गरेको छु। किनमेल जाँदा कतै घुमघाम गर्न जाँदा धेरै नेपालीहरु सँग भेट भैरहेको हुन्छ । धेरैलाई नेपाली हुँ भन्न गाह्रो भए झै लाग्छ।

हामी किन खुलेर आफ्नो देशको नाम भन्न गाह्रो मान्छौ। किन आफ्नो मातृभाषा बोल्न अप्ठ्यारो मान्छौ।

अर्को कुरा कुनै पनि भाषा सिक्नु जान्नु नराम्रो हुदै हैन। भाषा नजान्नु पनि त नराम्रो हैन। तपाई जुन समाजमा बाँचिरहनु भएको छ। त्यो समाजको भाषा नजान्नु समस्याको बिषय हुन सक्ला। हाम्रो नेपाली समाजमा अंग्रेज़ी नजान्नेलाई खिसी गर्ने। अंग्रेजी बोल्न जान्ने माथिल्लो स्तरको भन्ने एक प्रकारको ग्रसित सोच छ।

अष्ट्रेलियामा प्राय नेपालीहरुको छोराछोरीले नेपाली भाषा बोल्नै नजान्ने पाएको छु।

अङ्ग्रेजी भाषाको विश्वायापी रुपमा प्रभाब छ । मलाई अंग्रेजी बोलेको सँग समस्या हैन। आफ्नो सन्तानलाई धेरथोर मातृभाषाको अभ्यास गराउन सके राम्रो हुन्थ्यो जस्तो लाग्छ।

हामी सँग यतिका धेरै भाषा, संस्कार-संस्कृतिहरु छन्। कति लोप भैसकेको अवस्था छ। आफ्नो संस्कृति बचाएर राख्नु हामी सबैको दायित्व हो।

यी सब कुराहरु हामीले हाम्रा पछिल्ला पिढीहरुलाई पुस्तान्तरण गर्दै जानु पर्दछ । यसरी नै त हो हाम्रो परम्परा, संस्कार-संस्कृती बचाउदै लाने।

अहिले विभिन्न समुदायका जात-जाति,भाषा/भाषिहरु बाट आ-आफ्नो भाषा, संस्कारको संरक्षणमा विभिन्न खोज अनुसन्धान जस्ता प्रयासहरु भएको देख्दा खुसी लाग्छ।

यसलाइ सकारात्मक पाटोको रुपमा लिन सकिन्छ । यद्यपि व्यवहारिक रुपमा भने यसको गति बढ्न सकेको छैन।

मातृभाषा सिकेर जागिर खान, प्रगतिशील हुन, आधुनिकतामा भिज्न गाह्रो हुने,अङ्ग्रेजीमा निपुण बनाउने उद्देश्यले मातृभाषा सिक्दा-अङ्ग्रेजी सिकाइमा बाधा पुग्ने मानसिकताले गर्दा अभिभावकहरुले जानी(नजानी घर बाट नै अङ्ग्रेजी अभ्यास गराउने हुँदा नयाँ पुस्तामा मातृभाषा लोप हुँदै गएको पाइन्छ।

आधुनिकता संगै आफ्नो पहिचान नभुल्ने वातावरणको विकास हुन आवश्यक छ। मातृभाषा पहिचान पनि हो। पहिचानमै त अस्तित्व हुन्छ।

तपाईं अङ्ग्रेजी सिक्नुस र मातृभाषा पनि सिक्नुस ।जसरी एउटा बालकले स्कुलमा अङ्ग्रेजी , गणित, नेपाली आदि विषय पढ्छ त्यसमा मातृभाषा थपिदा भाषिक क्षमताको पनि विकास हुन्छ।

अनि बुवा!

हजुरको छोरा नेपाल नफर्कने रे त अब ?

खै बाबु!

नेपाल गएर पनि के गर्नु बुवा भन्छ।

मलाई त पुर्खाहरुले गरिआएको ठाउँ माया लाग्छ । छोड्न सक्दिन बा।

उनिहरुको उमेर छ। आफ्नो खुशी गरुन्। म बुडा अब कति बाँच्छु र!

उनको दिक्क मानिरहेको अनुहारतिर हेरे। टोपी नियाले।

फेरि नेपाल सम्झे। देशको अवस्था सम्झे।

राजनैतिक अस्थिरता , भ्रष्टचार, बेरोजगारी, भद्रगोल!

उफ्फ!

किन विदेश नलागुन त युवाहरु।

अनि बाबु यहाँ नजिकै बस्नु हुन्छ?

एकोहोरि रहेको म उहाँको प्रश्नले झसंगै भए।

हजुर बुवा। यहि परतिर बस्छु। यहाँबाट हिडेर पाँच मिनेट लाग्छ।

हजुर कहाँ बस्नुहुन्छ यतै नजिकै?

ठाउँ ठम्याउँन सक्दिन बाबु! जता हेर्यो सबै उस्तै लाग्छ।

छोराले गाडिमै ल्याउँछ लान्छ। यहाँबाट दश मिनेट जति लाग्छ गाडीमा।

यी बुवाको छोरा जस्तै घर, गाडी व्यवस्थित भएर बसेका हजारौँ नेपालीहरु छन् अष्ट्रेलियामा।

सामान्य व्यापार-व्यवसाय गरेर राम्रै कमाई गरेर बस्ने नेपालीहरु पनि धेरै छन्।

अझ भनौ अस्ट्रेलियन शैक्षिक क्षेत्रका सफल व्यवसायी शेश घले अस्ट्रेलियाका धन्याड्य मध्य एक हुन् ।

यि त भए गरि खानेका कुरा।

अष्ट्रेलियामा अरु थरिका नेपालीहरु पनि छन्।

जुवा, लागु औसत कुलत मा फसेका। यि कुराहरुमा एक पल्ट फसिसकेको मानिस पुनः सामान्य जिवनशैलीमा फर्कन धेरै कठिन हुन्छ। तपाई हामीलाई थाह भएकै कुरा हो ।

अस्ट्रेलियाका चिल्ला गल्लिहरुमा आ-आफ्नै सपना, कथा ब्यथा बोकेर हिडि रहेका मनुष्य भिड भित्र धेरै नेपालीहरु मिसिएका हुन्छन्।

एक दिन बिहानै काम जान हतारिदै ट्रेन भित्र पस्दै गर्दा पछाडिबाट एक युवक दाई नेपाली हो भन्दै म सँगै ट्रेन भित्र छिरे। हो भाई भन्दै खालि सिट तिर लम्किए। उ पछ्याउदै मेरै नजिक आएर बसेर बोल्न थाल्यो।

दाई दुई दिन भयो केहि खाएको छैन। अलिकति पैसा भए दिनुस न। सारै भोक लागिरहेको छ।

हेर्दा केहि नशामा जस्तो देखिन्थ्यो उसलाई।

कालो कन्भर्स, निलो जिन्स, मैला खैरो ज्याकेट भताभुंग कपाल। लामो मैला नङ। तल देखि माथि सम्म नियाले।

भाई को सँग बस्छौ? तिमी काम गर्दैनौ रु मैले सोधेँ।

दाइ काम नभएकोले रुममेटहरुले कोठाबाट निकालि दिए । खोजिरहेको छु, पाएको छैन।

मैले भनेँ!

हेर! भाई तिमी यति योङ छौ। मागेर हिडेको सुहाएन। तिम्रो बुवा-आमाले तिम्रो यो अवस्था थाहा पाउनुभयो भने उहाँहरुलाइ कस्तो होला?
ति युवक चुप् भए।

भाई म सँग क्यास छैन। भए दिन्थे । मैले उम्कने जुक्ति लगाएँ।

दाइ प्लिज! बाहिर कतै क्यास आउट गरेर भए पनि दिनुस् न।

उसको कुरा खासै पत्यार नलागे पनि त्यो मरिहत्तेबाट सजिलै उम्कन सक्छु जस्तो लागेन।

गोजिबाट वालेट निकालेर भित्रि गोजिहरु चेक गरे । आफैले भुलिसकेको नयाँ बिस डलरको नोट फेला पर्यो ।

मनमनै हिसाब गरें।

ओहो! बिस डलरको नेपाली लगभग दुइ हजार।

नेपालमा माग्नेलाई धेरै दिए पाँच रुपियाँ।

अस्ट्रेलियामा माग्नेलाई दुइ हजार।

दिउँ भने यति पैसा कमाउँन एक घण्टा काममा गर्नु पर्छ।

नदिउँ उम्कने उपाए छैन।

दाइ!

हँ! झसंग भएँ।

तपाइ कहाँ झर्ने ?

ओहो! झर्ने ठाउँ पो आउन लागेछ। पैसा नदिए पिछा छोड्दैन भन्ने पक्का भैसक्यो। पछ्याउदै कामै पुगिदेला। हेर फसाद।

ल भाइ अब यसरी मागेर नहिड्नु। गरेर खानु पर्छ भाइ। म पनि तिमि जस्तै हो। जाँगर हुनेलाई दुस्ख छैन यहाँ।

भन्दै पुरै डलर हातमा थमाएर काम तिर दगुरे।

घाम डुबिसकेको थियो। टाढा-टाढा पुगेका चराहरु उड्दै पार्कको रुखभरी हल्ला गर्दै आ-आफ्नो बास खोजिरहेका थिए।

मानिसहरुको चहलपहल बड्दो थियो।

पार्क भरि रंग रंगका मधुरो बत्तिहरु बिस्तारै चहकिदै थिए ।

बा संग गफ गर्दा गर्दै एक घण्टा बितिसकेछ । दिन भरिको कामको थकान शरिरले कोठाको बिस्तारा सम्झन थालेछ ।

बिदा माग्दै भने-ल बुवा! अब म जान्छु।

हवस! बाबू।

मेरो पनि छोरो आइपुग्ने बेला भयो।

बाबु सँग कुरा गर्दा नेपालमै भए जस्तो लाग्यो।

फेरि मलाई देख्यौ भने बोलाउनु है बाबू!

हवस! बुवा भैहाल्छनी। हजुरलाइ भेटेर मलाइ पनि खुशी लाग्यो भन्दै उनको मुस्कानको प्रतिउत्तर दिदै लागे कोठातिर।

(मनसुन राई, हाल अष्ट्रेलिया)


प्रतिक्रिया दिनुहोस्