सन्तान साथमा नहुँदाको पीडा : ज्येष्ठ नागरिकलाई शुल्क तिरेर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ०९


झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमान्को मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालीन समाजको परम्परावादी सोचका कारण लक्ष्मी आमाबुबासँगै माइतीमा बस्दै आउनुभयो ।

उहाँलाई माइतीमा बस्दा कुनै समस्या भएन । दाजुभाइले राम्रै व्यवहार गर्थे तर अवसरको खोजीमा दाजुभाइ सबै विदेश गए ।

दिदीबहिनीहरुले पनि विवाह गर्दै आ–आफ्नो घरजम गर्न थाले । बुबाआमा रहुन्जेल लक्ष्मीलाई कुनै समस्या भएन । जब आमाबुबा दुवैको मृत्यु भयो, तब लक्ष्मीलाई एक्लो महसुस हुने र बिरामी हुँदा होस् या दैनिक दिनचर्यामा तातोपानी तताएर दिने पनि कोही भएन ।

लक्ष्मीलाई कहिलेकाहीँ नातेदारतर्फका भाइहरुले गाह्रोसाह्रो पर्दा सहयोग गर्थे । सधैँ उनीहरुको सहयोग लिन पनि व्यावहारिक नभएपछि ७५ वर्षीय लक्ष्मीले रोज्नुभयो वृद्धाश्रम । उहाँ भक्तपुर आदर्शस्थित सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम बस्न थालेको तीन वर्ष भइसकेको छ ।

“नातेदारका भाइहरुलाई कति दुःख दिउँजस्तो लाग्यो । त्यही भएर मलाई हेर्ने ठाउँमा पु¥याइदिनु भनेँ”, उहाँले भन्नुभयो, “उनीहरुकै सहयोगमा यो ठाउँमा आइपुगेँ ।” वृद्धाश्रममा मासिक रु १८ हजार शुल्क बुझाउनुपरेको उहाँले बताउनुभयो । “अहिले मलाई खुट्टा दुख्ने, रक्तचाप र मधुमेहको रोग छ । कसले हेर्छ । कोही छैन मेरो । मेरो सहारा भन्नु नै भगवान् र यही आश्रम हो”, उहाँले भन्नुभयो ।

त्यस्तै सोही आश्रममा बस्दै आउनुभएकी अर्की आमा हुनुहुन्छ ६४ वर्षीया सपना सिग्देल । काठमाडौँकी सपनाको हेटौँडाका युवकसँग मागी विवाह भएको थियो । वैवाहिक जीवन ठिकठाक चल्दै थियो । विवाहको अर्को वर्ष सपनाले छोरीलाई जन्म दिनुभयो ।

भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी र सुखी बनाउँछ तर उहाँको जीवनमा त्यस्तो हुन सकेन । विवाहको अनुपम उपहारका रूपमा पहिलो सन्तान छोरीको जन्मसँगै उहाँलाई श्रीमान्ले साथ छाडे ।

अग्नि साक्षी राखी जीवनको हरेक पलमा साथ दिने वाचा कसम खाई सातफेरा लगाएका श्रीमान्ले छोरीको जन्मसँगै छाडेपछि सपना माइतीको शरणमा पुग्नुभयो । छोरीसहित माइतीमा बस्दै आउनुभएकी सपनालाई बुबा छउन्जेल खासै समस्या परेन ।

सपनाका बुबा राष्ट्र बैंकमा जागिरे हुनुहुनथ्यो । बुबाको पेन्सनले सपना र उहाँकी छोरीलाई आवश्यक पर्ने सम्पूर्ण खर्च सपनाकी आमाले बेहोर्दै आउनुभयो तर लामो समय माइती बस्न बाध्य सपनालाई दाजुभाइको व्यवहार निको लाग्न छाड्यो । आमालाई पनि घरमा छोराबुहारीको कचकचले दिक्क बनाएपछि उनै आमाले सपनालाई सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम पु¥याउनुभयो ।

सपना वृद्धाआश्रममा आइपुगेको चार वर्ष भइसकेको आश्रमका प्रशासन प्रमुख अनिल राजभण्डारीले बताउनुभयो । वृद्धाआश्रम आए पनि कहीलेकाहीँ फोनमा आमासँग कुरा गरेर मन बहलाउने गर्नुभएकी सपना डेढ वर्षअघि आमाको मृत्यु भएपछि एक्लो महसुस गर्नुहुन्छ । बेलबेलामा सपनालाई भेट्न आउने छोरी पनि गतवर्षको लकडाउनदेखी आउन छाडेपछिसपनामा एकान्तमा बरबराउने समस्या देखिएको राजभण्डारीले बताउनुभयो ।

श्रीमान्को हेटौँडामा जग्गा जमीन भए पनि कानूनबमोजिम अधिकार नदिएको उहाँले बताउनुभयो । वृद्धाश्रममा राखेर स्याहारसुसार गरेबापत लिने मासिक रु १२ हजार भने श्रीमान्ले पठाउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै पाटन लुक्सीकी ७८ वर्षीया सुर्जमायाँ श्रेष्ठ पनि तीन वर्षदेखि सोही आश्रममा बस्दै आउनुभएको छ । विवाहपछि एक छोरीलाई जन्म दिएकी श्रेष्ठ अहिले एक्लै हुनुहुन्छ । “विवाहपछि सन्तानको नाममा एउटी छोरी थिइन्, त्यो पनि सानै उमेरमा भगवान्लाई मन प¥यो,” उहाँले भन्नुभयो ।

आजभन्दा ४१ वर्ष अगाडि श्रीमान् बितेर एक्ली भएकी श्रेष्ठले आश्रम आउनुभन्दा अघि ३० वर्षसम्म पाटन औद्योगिक क्षेत्रमा काम गरेर जीवन निर्वाह गर्दै आउनुभएको थियो । “सम्पत्तिका नाममा एउटा सानो घडेरी थियो, त्यो पनि जेठाजुलाई भाग लगाउनुपर्ने,” उहाँले भन्नुभयो, “जेठाजु भएसम्म घरमै बस्यौँ । पछि उहाँको छोराछोरीले हेरेनन् । वास्ता पनि गरेनन् । रोगी भएका कारण औषधि खर्च चाहिन्थ्यो । त्यो पनि भएन । आफ्नाले त हेरेनन्, अरुको के भर भनी आफु खुशी यहाँ बस्न आएँ ।”

सुर्जमायाँले अहिले आश्रमलाई मासिक रु १७ हजार तिर्नुपर्ने बाध्यता छ । त्यो शुल्क तिर्न सगोलको घर बेचेर आफ्नो भागमा आएको पैसा बैंकमा राखेको उहाँले बताउनुभयो । त्यही पैसा अहिले उहाँको जीवन जिउने आधार बनेको छ ।

सपना, सुर्जमायाँ र लक्ष्मी जस्तै दुर्गा सुवेदीले पनि चार वर्षदेखि आश्रमको सहारामा आफ्नो जीवन व्यतित गर्दै आउनुभएको छ । पन्ध्र वर्षअघि श्रीमान् बितेपछि छोरोको सहारामा बसेकी दुर्गालाई छोरोले पनि छोडेर गए । उहाँले भन्नुभयो, “सन्तानको नाममा भएको एउटा छोरोको पनि चार वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भयो । त्यसपछि घरमा बस्ने वातावरण मिलेन । छोरोको साथीलाई भनेर यहाँ आएकी हूँ ।”

उमेरले ७२ वर्ष कट्नुभएकी दुर्गालाई मुटु र मिर्गौलाको समस्या छ । घरमा बुहारी र नातिनीहरु छन् तर बुहारीको जागिर भएको र नातिनीहरु विदेश गएका कारण आफू आश्रममा बस्न आएको उहाँले बताउनुभयो । “बुहारीको जागिर छ । उनले मलाई रेखदेख गर्न भ्याउँदिनन् । नातिनीहरु पढ्न विदेश गए । उनीहरुलाई पनि गाह्रो छ । त्यही भएर म यहाँ आएकी हूँ,” उहाँले भन्नुभयो ।

उहाँले नातिनीहरुसँग फोनमा कुरा भने हुने गरेको बताउनुभयो । “कहिलेकाहीँ फोनमा नातिनीहरुसँग कुरा हुन्छ । घर लिएर जान्छु भन्छन् नानीहरुले, हेरम के हुन्छ,” उहाँले भन्नुभयो । उहाँले आश्रमलाई मासिक रु १५ हजार तिर्ने गरेको बताउनुभयो । “त्यो पैसा आफ्नै कमाइबाट जोगाएको रकमबाट तिर्ने गरेकी छु,” उहाँले भन्नुभयो, “पहिला त्रिभुवन विश्वविद्यालयको होस्टेलमा काम गर्दाखेरीको पैसा जोगाएर राखेकी छु । त्यही पैसाले आश्रमको शुल्क तिर्छु ।”

आश्रममा आउने अधिकांश ज्येष्ठ नागरिकहरु आफ्नै खुसीले आउने गरेको आश्रमका प्रशासन प्रमुख राजभण्डारीले बताउनुभयो । “आफ्ना छोराछोरी विदेशमा भएका, सन्तान नभएका र घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरु स्वइच्छाले यहाँ आउनुहुन्छ”, राजभण्डारीले भन्नुभयो ।

आश्रममा अहिले ३० आमा र आठ बुबा आश्रित छन् । तीमध्ये अशक्त १२ जना रहेको राजभण्डारीले बताउनुभयो । “अशक्त १२ आमाबाका लागि दैनिक तीन जना कुरुवा २४ घण्टा खटिरहेका हुन्छन् । अन्य बाआमाको हेरचाहका लागि २४ सै घण्टा छ जना नर्स र चार जना डाक्टर खटाएका छौँ”, उहाँले भन्नुभयो, “आश्रममा २६ कर्मचारी र स्वास्थ्यकर्मी कार्यरत छन् ।”

आश्रमले आश्रममा बसेका ज्येष्ठ नागरिकहरुलाई दिनको पाँच पटक खाना चिया नास्ता दिने गरेको राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार आश्रमले बिहान कालो चिया र बिस्कुट, आठ बजे दूध चिया, १० बजे खाना, २ बजे खाजा र आवश्यकताअनुसार कसैलाई रोटी त कसैलाई भात खुवाउने गरेको छ ।

आश्रित ज्येष्ठ नागरिकहरुलाई नियमित खानाका साथै आवश्यकताअनुसार पोषण पनि दिने गरेको राजभण्डारीले बताउनुभयो । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा गरिएको र उपचारका क्रममा आवश्यक परेका औषधिहरु विदेशबाट समेत मगाएर दिने गरेको उहाँले बताउनुभयो । आश्रममा आश्रितहरुको जन्मदिन मनाउने र हरेक नेपाली चाडपर्व परम्परागत शैलीमा मनाउने व्यवस्था गरिएको छ ।

आश्रितहरुले शुल्क तिर्ने गरेको बताए पनि राजभण्डारीले भने निःशुल्क रूपमा आमाबुबाहरुलाई राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “इच्छाअनुसार दिनेको लिन्छौँ । मासिक यति नै शुल्क भनेर तोकिएको छैन ।” ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा २० मा नेपाल सरकारले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्रको स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ तर भक्तपुरमा सरकारीस्तरमा कुनै केन्द्रको स्थापना र सञ्चालन भएको छैन ।

भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणका लागि आदर निकेतन स्थापना गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणका लागि आदर निकेतनको व्यवस्था गर्ने उल्लेख गरेको छ । वडा नं ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन सञ्चालनका लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्